विश्वकप लिग–२ मा स्कटल्याण्डमाथि नेपालको ऐतिहासिक जित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डविरुद्ध नेपाल ५ विकेटले विजयी भएको छ । स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो । स्कटल्याण्डविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा जित निकाल्दै नेपालले इतिहास रचेको हो ।  

गएराति सम्पन्न खेलमा स्कटल्याण्डले दिएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । ६२ बलको सामना गरेका उनले १० चौका र एक छक्काको साथ ७१ रनको पारी खेले । 

एकदिवसीयमा आसिफको यो चौथो अर्धशतक हो । उपकप्तान रोहितकुमार पौडेलले ३१ बलमा पाँचौं चौकाको साथ अविजित ३४ रन जोडे । देव खनाल चार, दीपेन्द्रसिंह ऐरी तीन र आरिफ शेख एक रनमा आउट भए । 

स्कटल्याण्डका लागि केभिन मेनले तीन, रिचि बेरिङ्टन र एड्रियन नीलले एक/एक विकेट लिए । त्यसअघि टिटवुड ग्लासगामा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली स्कटल्याण्डले ४२.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो । उसका लागि केभिन मेनले अर्धशतकीय पारी खेले । ५९ बलको सामना गरेका उनले सात चौका र एक छक्कासहित अविजित ६४ रन बनाए । एकदिवसीयमा केभिनको यो पहिलो अर्धशतक हो ।  

त्यस्तै, मार्क वाटले १७ र कलुम म्याक्लोयडले १३ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । स्कटल्याण्डलाई सस्तैमा समेट्नमा सोमपाल कामीले १० ओभरमा ४० रन दिएर महत्वपूर्ण ३ विकेट लिए । त्यस्तै, मोहम्मद आदिल आलमले १० ओभरमा २ मेडनसहित ३१ रन दिएर तीन विकेट हात पारे । कप्तान सन्दीप लामिछानेले  १० ओभरमा ३५ रन दिएर दुई विकेट लिए । करण केसीले ९ ओभरमा ३१ रन दिएर एक विकेट हात पारे । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १.५ ओभरमा २ रन दिएर एक विकेट लिए ।  

जारी श्रृंखलामा नेपालको यो पहिलो जित हो । पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्याण्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो । स्कटल्याण्डलाई हराएसँगै नेपाल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । नामिबिया छैटौंमा झरेको छ । हालसम्म नेपालले १८ खेलमा आठमा जित र नौ खेलमा हार बेहोरेको छ । 



एक खेल भने नेपालले टाइ खेलेको छ । स्कटल्याण्डले २२ म्याच खेल्दा १४ मा जित र ६ खेलमा हारको सामना गरेको छ । नेपालले जारी सिरिजमा तेस्रो खेल शनिबार नामिबियाविरुद्ध खेल्नेछ ।   



  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार ६:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया