कोभिड–१९ को जोखिम कायमै, खोप लगाउनेको संख्या भने घट्यो

१२ वर्ष माथिका सुर्खेत जिल्लाभर ३ लाख २७ हजार १ सय १४ नागरिक लक्षित वर्गमा समावेश छन् । तर, हालसम्म लक्षित वर्गमध्ये सबैले काेराेनाकाे पहिलो खोप लगाइसकेका छैनन् । लक्षित वर्गमध्ये ८५ प्रतिशत नागरिकले मात्र कोभिड–१९ विरुद्धको पहिलो खोप पाएका छन् ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिकाबाहेक अन्य पालिकाका सबै लक्षित समुदायले हालसम्म पहिलो खोप पनि नलगाएका हुन् । 

वीरेन्द्रनगर नगरपालिकामा ९९ हजार ९ सय ५ जना लक्षित नागरिकमध्ये पहिलो खोप लगाउनेको सङ्ख्या १ लाख ११ हजार ८ सय १९ छ । तर, जिल्लाकाे अन्य पालिकामा करिब ८५ प्रतिशत मात्र लक्षित नागरिकसम्म कोभिड–१९ विरुद्धको पहिलो खोप पुगेको छ । पालिकागत रूपमा हेर्दा सिम्तामा ६३ प्रतिशत लक्षित वर्गमा कोभिड–१९ विरुद्धको पहिलो खोप पुगेको छ ।

सुर्खेतमा सबैभन्दा बढी सिम्ता गाउँपालिकावासी खाेपकाे पहुँचमा छैनन् । यहाँ २४ हजार ३ सय ६२ जना लक्षित थिए । तर, हालसम्म पनि कुल १५ हजार २ सय ६९ जनाले मात्र पहिलो खोप लगाएका छन् । अन्य पालिकामा चिङ्गाड गाउँपालिकामा ६५ प्रतिशत, लेकवेशी नगरपालिकामा ६८, गुर्भाकोट नगरपालिकामा ९२ प्रतिशत, भेरीगंगा नगरपालिकामा ७८ प्रतिशत, बराहताल गाउँपालिकामा ७० प्रतिशत, पञ्चपुरी नगरपालिकामा ६७ प्रतिशत र चौकुने गाउँपालिकामा ६७ प्रतिशत लक्षित वर्गले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका छन् ।

कोभिड–१९ विरुद्धको पहिलो भ्याक्सिन लगाउनेको सङ्ख्या सुर्खेतमा दुई लाख ७८ हजार ३ सय २४ जना रहेको छ । तर, कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएको यो जनसङ्ख्याको आधारमा हेर्दा हाल ‘बुस्टर डोज’ लगाउनेको संख्या ज्यादै न्यून देखिन्छ । पहिलो र दोस्रो खोप हुँदै बुस्टर डोज लगाउनुपर्ने हुन्छ । तर पहिलो खोप पछि दोस्रो खोप हुँदै बुस्टर सम्म आई पुग्दा सुर्खेतका धेरै नागरिकले खोप लगाएका छैनन् ।

पहिलो खोप लगाएका सुर्खेतका नागरिकमध्ये करिब १ लाख ५९ हजार सात सय ७९ जना नागरिकले बुस्टर डोज अझै लगाएका छैनन् । सरकारले सुर्खेतका नौ वटै स्थानीय तहमा कुल चार लाख २५ हजार ६ सय १६ जना रहेको जनसङ्ख्यालाई आधार माती खोप अभियान सञ्चालन गरेको थियो । जसमध्ये १२ वर्ष माथिका कुल तीन लाख २७ हजार एक सय १४ जनाको जनसङ्ख्यालाई कोभिड–१९ विरुद्धको खोप आवश्यकताको लक्षित वर्गमा रहेको सरकारी योजना थियो । उक्त जनसङ्ख्याको ८५ प्रतिशत नागरिक खोपको पहुँचमा पुगेका छन्  । सुर्खेतका २ लाख ७८ हजार ३ सय २४ जना नागरिकले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका छन् ।



पहिलो खोप लगाएकामध्ये ९८ प्रतिशत नागरिकले दोस्रो खोप पाएका छन् । दोस्रो खोप पनि लगाउनेहरूमा सुर्खेतमा २ लाख ७३ हजार नौ सय ३९ जना रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्याङ्क छ । दोस्रो खोपमा नागरिक सहभागिता देखिएको यस अभियानमा बुस्टर खोप लगाउनेहरूको सङ्ख्या भने ह्वात्तै घटेको छ ।

पहिलो खोप लगाएकामध्ये बुस्टर खोपसमेत लगाउनेको सङ्ख्या १ लाख १८ हजार ५ सय ४५ जना रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ अहेव तथा सूचना अधिकारी अमरबहादुर रानाले जानकारी दिए । जिल्लागत रूपमा सुर्खेतमा २८ प्रतिशत नागरिकले मात्र बुस्टर डोज लगाएका छन् ।​



पालिकागत रूपमा हेर्नुपर्दा सुर्खेतको गुर्भाकोट नगरपालिका खोप अभियान प्रभावकारी सञ्चालन भएको देखिन्छ । यहाँका ३६ प्रतिशत नागरिकले बुस्टर डोज लगाइसकेका छन् । ५३ हजार आठ सय ५८ जनाको जनसङ्ख्यालाई आधार मानिएको यस पालिकाका १९ हजार तीन सय ६० प्रतिशत नागरिकले बुस्टर डोज लगाइसकेको वरिष्ठ अहेव रानाले जानकारी दिए ।

सिम्ता गाउँपालिकामा २७ प्रतिशत नागरिकले बुस्टर डोज लगाएका छन् । यहाँको कुल ३१ हजार ६ सय ९८ नागरिक मध्य आठ हजार सात सय तीन जना नागरिकले बुस्टर डोज लगाएका हुन् । यसैगरी चिङ्गाड गाउँपालिकाका २४ प्रतिशत नागरिकले बुस्टर खोप लगाएका छन् । यहाँको कुल २० हजार पाँच सय ५४ जना खोप लगाउन योग्य नागरिकमध्ये ४ हजार ८ सय ५३ जना नागरिकले बुस्टर डोज लगाएको वरिष्ठ अहेव रानाले जानकारी दिए ।

लेकवेशी नगरपालिकामा भने २७ प्रतिशत नागरिकले बुस्टर खोप लगाएका छन् । यहाँको ३८ हजार आठ सय ५२ नागरिक मध्य १० हजार ६ सय १२ जनाले बुस्टर डोज लगाएको देखिन्छ । वीरेन्द्रनगर नगरपालिकामा कुल ३४ प्रतिशत नागरिकले बुस्टर डोज पाएका छन् । कुल एक लाख २९ हजार नौ सय ८९ जना मध्य ४४ हजार ६ सय २३ जनाले बुस्टर खोल लगाएको तथ्याङ्क छ । भेरीगंगा नगरपालिकामा २४ प्रतिशतले बुस्टर डोज लगाएका छन् । नगरपालिकाका ५० हजार ३१ नागरिक मध्य ११ हजार आठ सय १४ जनाले बुस्टर खोप लगाएका छन् ।

बराहताल गाउँपालिकामा भने २८ प्रतिशत नागरिकले बुस्टर डोज लगाएका छन् । यस गाउँपालिकाको ३२ हजार चार सय ३६ नागरिक मध्य आठ हजार नौ सय ८७ नागरिकले बुस्टर डोज पाएका स्वास्थ्य सेवा कार्यालयले जनाएकाे छ । पञ्चपुरी नगरपालिकामा सात प्रतिशत नागरिकले मात्र बुस्टर खोप लगाएका छन् । ३८ हजार तीन सय ५२ जनाको जनसङ्ख्यामा यस पालिकामा दुई हजार पाँच सय १८ जनाले बुस्टर डोज लगाएका छन् ।

त्यस्तै, चौकुने गाउँपालिकामा २४ प्रतिशत नागरिकले बुस्टर खोप लगाएका छन् । यस पालिकाको कुल २९ हजार आठ सय ४६ जनसङ्ख्यामा कुल सात हजार ७५ जनाले बुस्टर खोप लगाएको तथ्याङ्क छ । यो तथ्याङ्क यही वर्षकाे २२ असारसम्मकाे हाे । 

कोरोना संक्रमण कम भए पनि यसको जोखिम भने कायमै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । संक्रमण जोखिम कायमै रहेकाले खोपमा जोड दिनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए । नागरिकमा खोपको सन्दर्भमा गलत सन्देश फैलिरहेको बताउँदै उनले बुस्टर डोजका विषयमा फैलिएका भ्रामक सूचनाका पछि नलाग्न पनि आग्रह गरे ।

‘खोप लगाइसकेपछि सामान्य लक्षण देखिनु स्वाभाविक नै हो । तर यस्ता सामान्य लक्षणलाई लिएर समाजमा गलत सन्देशहरू पनि प्रवाह भएका छन्  । त्यस्तो हल्लाको पछाडि नलागी नजिकको स्वास्थ्य संस्थानमा गएर बुस्टर डोज लगाउन अनुरोध गर्छौँ,’ गौतमले भने, ‘महामारी अझै टरेको छैन । पहिलो खोप लगाउन छुट्नु भएकाहरूले पनि खोप लगाउन अनुरोध छ ।’

उनले अगाडि थपे, ‘कोभिड–१९ खोप लगाएका कारण पनि संक्रमण समयमा नागरिकमा जटिल प्रकृतिका लक्षण नदेखिएको हो । अहिले पनि उत्तिकै सतर्कता अपनाउनुपर्ने समय छ । जस बेला पनि महामारीको रूप लिन सक्छ, त्यसैले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्छ ।’ 

  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १२:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया