बाजुराको बुढीनन्दा नगरपालिकामा जनगुनासो सुनुवाइका लागि ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गरिएको छ । २४ घण्टा नगर बासीले प्रत्यक्ष नगर प्रमुखसँग आफ्ना समस्या र गुनासा सुनाउन सक्ने गरी सेवा सञ्चालन गरिएको हो । नागरिकले फोन गर्दा पैसा नलाग्ने टोल फ्री नम्बरको व्यवस्थापनसहित सेवा बुधबारदेखि नियमित सञ्चालनमा आएको नगर प्रमुख जनककुमार बोहराले जानकारी दिए । सेवाको नगर प्रमुख बोहराले नै औपचारिक शुभारम्भ गरेका थिए ।
निर्वाचित भएको दुई महिनाभित्रै उल्लेख्य काम गरेर जनस्तरबाट स्याबासी पाएका बोहराले जनगुनासो सुनुवाइका लागि हेलो मेयर कार्यक्रमको थालनी गरेका हुन् । सबैले भेट्न र फोनबाटै प्रत्यक्ष सम्पर्कमा जोडिएर कुरा राख्न नसक्ने भएकोले सहज पहुँच र सेवाका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको बोहराको भनाइ छ ।
‘हामी विपन्न समुदायको सवाल र समस्यालाई सम्वोधन गर्न आएका हौँ । समुदायका तल्लो तहका नागरिकको जीवन स्तर सुधार गर्नु हाम्रो प्रमुख काम हुनुपर्छ र यही संकल्प बोकेका छौँ । तीनै कामलाई थप प्रभावकारी बनाउन हेलो मेयर कार्यक्रमले थप सहयोग मिल्ने विश्वास छ’ बोहराले भने ‘नगरवासीहरुले २४ घण्टा आफूलाई परेको समस्या र जनप्रतिनिधि तथा नगरपालिका प्रतिको गुनासो, सुझावलाई फोन मार्फत रेकर्ड गर्न सक्ने छन् । जनस्तरबाट आएका सुझावका आधारमा हामीलाई पनि अघि बढ्न सजिलो हुने विश्वास रहेको छ ।’
हेलो मेयर कार्यक्रमका लागि १६६०९७५४००२ फोन फ्री नम्बर तय गरिएको छ । पालिकाभित्रका स्वास्थ्य, शिक्षा, खानेपानी, सुशासन, कर्मचारीको सेवा प्रभाव, उपभोक्ताको काम प्राकृतिक प्रकोप तथा विपद् सबै प्रकारका घटना हेलो मेयर कार्यक्रमअन्तर्गत संकलन गरी सुनुवाइ गरिने नगरपालिकाले बताएको छ ।
पालिकाभित्र हेलो मेयर कार्यक्रममा आएका गुनासा र सवाल सुनुवाइका लागि संयन्त्र नै बनाउने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताएका छन् । हेलो मेयर कार्यक्रम नगर प्रमुखले पदभार ग्रहणकै दिन सञ्चालन गर्ने निर्णय गरेका थिए । निर्णय गरेको डेढ महिनाभित्रै कार्यान्वयन गरिएको छ ।
पालिकाका कर्मचारीले गुनासा संकलन गर्ने र सोही आधारमा टेलिफोन, संवाद, भेटघाट, वा अन्य व्यक्तिको सहजीकरण मार्फत गुनासा सुनुवाइ हुने गरी कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख रामबहादुर बोहराले बताएका छन् । स्थानीयले हेलो मेयर कार्यक्रमलाई विकास र प्रगतिको सूचकको रूपमा लिएका छन् । बोहरा नेतृत्वको टिमले बुढीनन्दा नगरपालिकामा २ महिनाको अवधिमै खानेपानीको सहज व्यवस्थापन, विद्यालयमा फ्री इन्टरनेट सेवा सञ्चालन गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।