काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै 'अमुक संस्था वा खेल'का लागि नभएको बताएका छन् ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले ई-स्पोर्टसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको स्पष्ट पारेका हुन् ।
आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा भएको उल्लेख गर्दै उनले नेपाली खेलाडीलाई पनि सहभागी गराएर राष्ट्रको गरिमा बढाउन सकिने बताएका छन् ।
'ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो' उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन् ।
उनले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कानुनले तोकिए बमोजिमका प्रक्रिया अपनाएर पारदर्शी किसिमले कार्यान्वयन गरिने पनि दाबी गरेका छन् । उनले 'फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल'नुहनेसमेत उल्लेख गरेका छन् ।
साथै उनले ई-स्पोर्टसका विषयमा आफ्नो नाम जोडिएका अतिरञ्जित र अनैतिक समाचारको खण्डन गर्न पनि आग्रह गरेका छन् । 'यो विषयलाई लिएर अतिरञ्जित र अनैतिक रूपमा मेरो नाम जोडिएका समाचारको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु,' उनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।