धनुषाको हंसपुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालयका कर्मचारी विगत ८ महिनादेखि तलबबाट वञ्चित भएका छन् ।
तोकिएको पारिश्रमिक उपलब्ध गराउन नगरप्रमुख प्रदीप यादवसँग माग गरे पनि उनले कुनै सुनुवाइ नगरेपछि बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलमा जाने चेतावनी दिएका छन् ।
बालविकास शिक्षक तथा विद्यालय कर्मचारी संयुक्त संघर्ष समितिका संयोजक रेणु मण्डलले आफूहरूले विगत ८ महिनादेखि तलब नपाएको गुनासो गरिन् । उनले नगरप्रमुख यादवले तलबका लागि कुनै चासो नदेखाउँदा बाध्य भएर आफूहरू आन्दोलनमा उत्रने निर्णय गरेको बताइन् ।
उनले आफूहरूले नगरप्रमुख यादवलाई समस्या समाधान गर्न आग्रह गर्दै ज्ञापनपत्रसमेत बुझाएको बताइन् । तरपनि नगरप्रमुखले कुनै चासो नदेखाएको उनको दुःखेसो छ । उनले आफूहरूको माग पूरा नगरिए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनीसमेत दिएकी छन् ।
बालविकासका शिक्षकले मासिक ८ हजार रुपैयाँमा चित्त बुझाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको यो विभेदलाई यथाशीघ्र सच्याउनुपर्ने शिक्षकहरूको माग छ । उनीहरूले लेखापालको मासिक तलब १८ हजार ५ सय र बालविकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार हुनुपर्ने मागसमेत गरेका छन् ।
हंसपुर नगरपालिकाभित्रका ३० वटा सामुदायिक विद्यालयमा ७१ जना कर्मचारीहरू कार्यरत रहेका छन् । जसमध्ये बालविकासका ४९ जना, सहयोगी १९ जना र ३ जना लेखापालहरू छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।