वैदेशिक रोजगारीको असर : श्रीमान् विदेशमा, श्रीमती डिप्रेसनमा

करिब डेढ दशकयता रेमिट्यान्स अर्थात् विप्रेषण नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको छ । विदेशी भूमिबाट नेपाल भित्रिने रेमिट्यान्सले देशको अर्थतन्त्र धान्नमा टेवा त पुर्याएको छ, तर वैदेशिक रोजगारीका कारण गाउँगाउँमा डिप्रसेनका रोगी बढिरहेका छन् । 

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ लाङगर्चेकी प्रिया तामाङ (नाम परिवर्तन)ले तीनपटकसम्म आत्महत्या प्रयास गरिन् । ०७८ मा उनले पहिलोपटक मेटासिट नामक विषादी सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । छिमेकीले तत्काल नजिकैको टिपेनी स्वास्थ्य चौकीमा पुर्याए । त्यहाँ उपचार गरेपछि उनको ज्यान जोगियो । 

दोस्रोपटक उनले घरभित्रै झुन्डिएर आत्महत्या गर्ने प्रयास गरिन् । लगत्तै उनकी जेठानीले थाहा पाएर डोरी काटिन् । प्रियाको आत्महत्या गर्ने यो प्रयास पनि सफल भएन । उमेरले भर्खर २२ कटेकी प्रियाले आत्महत्या प्रयास गर्नको कारण थियो, वैदेशिक रोजगारीले निम्त्याएको डिप्रेसन । 

उनका पति वैदेशिक रोजगारका लागि साउदी गएका थिए । श्रीमान् विदेश भासिएसँगै यता प्रियाका दुःखका दिन सुरु भए । घर–परिवारले वचन लाउन थाले । परपुरुषको नाम जोडेर लान्छना लगाउने थाले । श्रीमानले पनि प्रियाको साथ छाडे । 

श्रीमतीका लागि धन कमाउन भन्दै विदेश गएका श्रीमानले नै फोनसमेत गर्न छोडेपछि प्रिया डिप्रेसनको सिकार भएको बताउँछिन्, पाँचपोखरी थाङपाल गाउँपालिकाकी मनोसामाजिक परामर्शकर्ता मीना वाइबा । ‘प्रियाको साथमा ६ वर्षको छोरा छ । हामीले मनोपरामर्श दिन थालेपछि उनको अवस्था सुधार भएको छ । अब मर्दिनँ, बरु केही गरेर देखाउँछु भन्छिन् । विदेश गएर आफै पैसा कमाउँछु भनेर भन्छिन् । हामी उनीसँग नियमित सम्पर्कमा छौँ,’ वाइबाले भनिन् ।



पाचपोखारी थाङपाल–६ की माइली तामाङ (नाम परिवर्तन) पनि डिप्रेसनको चपेटामा छिन् । माइलीले आत्महत्या प्रयास नगरे पनि उनको मनमा पटक–पटक आत्महत्याको सोच आउने गरेको थियो । ४२ वर्षीया माइलीले पहिलो वैवाहिक जीवन सफल नभएपछि दोस्रो विवाह गरिन् । दोस्रो बिहे गरेपछि श्रीमान् विदेश गए । 



श्रीमान् विदेश गएपछि माइलीको नियति पनि प्रियाको जस्तै भयो । परिवारका सदस्यले नै परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाउन थाले । पुरुष मान्छेसँग बोल्दा लान्छना लगाउन थाले । श्रीमानसँग पनि बीचमा सम्बन्धमा चिसोपना आयो । माइलीलाई घरधन्दा चलाउनै ऋण लिनुपर्ने भयो । श्रीमान् सँगै नहुँदा घरेलु हिंसा, ऋण र लान्छनाका कारण माइलीलाई डिप्रेसन भएको मनोसामाजिक परामर्शकर्ता वाइबा बताउँछिन् । ‘अहिले माइलीको अवस्था ठीक छ । उनको श्रीमान् सँग पनि सम्बन्ध सुधार भएको छ,’ वाइबाले भनिन् ।

पाँचपोखारी थाङपाल–७ भोटे नाम्लाङकी २९ वर्षीया पेमा तामाङ (नाम परिवर्तन)को पनि पहिलो विवाह सफल भएन । दोस्रो विवाह गरेलगत्तै श्रीमान् मलेसिया उडे । विदेश जान लागेको ऋण समयमै तिर्न नसक्दा यता पेमालाई साहुले कराउन थाले । ‘ऋणको पिर र एक्लोपनाले पेमा पनि डिप्रेसनमा परिन् । श्रीमान् विदेश जाँदा ३ लाख ऋण लागेको थियो । पेमा गाउँपालिकामा मनोपरामर्श लिन थालेदेखि परिवर्तन भएकी छन् । उनका श्रीमान् पनि अहिले विदेशबाट फर्किएका छन्,’ वाइबाले भनिन् । 

पाँचपोखरी थाङपाल गाउँपालिकाले वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई लक्षित गरी ०७६ देखि मनोसामाजिक परामर्श दिन थालेको छ । ‘धेरै पुरुष विदेशिएपछि गाउँमा महिला, बुढाबुढी बालबालिका मात्रै भए । श्रीमान् सँगै नहुँदा महिलालाई अनेक आरोप लगाइन्छ,’ मनोसामाजिक परामर्शदाता वाइबाले भनिन्, ‘वैदेशिक रोजगारीले अधिकांश महिलाहरूमा डिप्रेसन निम्त्याएको देखियो । त्यसैले डिप्रेसनमा परेका व्यक्तिलाई मनोपरामर्श गर्नका लागि कार्यक्रम नै चलाउनुपर्यो ।’

तस्बिर : पाँचपोखरी थाङपाल गाउँपालिकाको कार्यालय र मनोसामाजिक परामर्शदाता मीना वाइबा
 पाँचपोखरी थाङपाल गाउँपालिकाको रेकर्डअनुसार गत आर्थिक वर्षमा २१ जना महिलाले मनोपरामर्श सेवा लिएका छन् । यस आर्थिक वर्षमा १७ जनाले मनोपरामर्श सेवा लिएका छन् । जसमध्ये १५ जना महिला छन् भने २ जना पुरुष छन् । 

श्रीमान् विदेशिदा महिलामा महिलामा मानसिक समस्या देखिन थालेपछि सिन्धुपाल्चोकको तीनवटा गाउँपालिकाले मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिरहेका छन् । हेलम्बु, बाह्रविसे र पाँचपोखरी थाङपाल गाउँपालिकामा अहिले मनोपरामर्श कार्यक्रम सञ्चालनमा छ । 

के हो डिप्रेसन ?

मेडिसिटी अस्पतालकी मानसिक चिकित्सक ऋचा अमात्यका अनुसार डिप्रेसन भन्नाले मनमा निराशापन हुनु र निराशापनको भावनालाई बुझिन्छ । कहिलेकाहीँ मानिस सानो कुराले पनि यत्तिकै निराश हुन्छ । 

यो एक प्रकारको मानसिक अवस्था हो । डिप्रेसन भएको व्यक्तिले आफ्नो भविष्य अन्धकार देख्छ, जसले गर्दा उसलाई आत्महत्यासम्म सोच आउन सक्छ । विगतमा मैले गल्ती गरेँ भनेर धेरै पछुतो मान्ने हुन्छ । कसैलाई खानको रूचि हुँदैन भने कसैलाई धेरै खान मन लाग्छ ।

पुरुषको तुलनामा महिलामा डिप्रेसन बढी देखिने डाक्टर अमात्यको भनाइ छ । उनी भन्छिन्, ‘पुरुषको तुलनामा महिलामा दुई गुणा बढी हुने गरेको छ । विश्वभरि गरिएको तथ्यांकमा महिलालाई धेरै भार उठाउन पर्छ, जसले गर्दा उनीहरू धेरै डिप्रेसनमा परेका हुन्छन् । महिलाहरू बढी भावुक हुन्छन् भन्ने छ ।’

  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार २१:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया