पाँचपोखरी थाङ्पाल गाउँपालिकाले नि:शुल्क वितरण गर्छ सेनटरी प्याड
‘जनचेतना जगाउँदा प्याड प्रयोग गर्नेको संख्या बढेको छ’

सरकारले आर्थिक वर्ष २०७६/७७ देखि सामुदायिक विद्यालयमा छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यको सुरुवात गर्यो । देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने भनिए पनि केही ठाउँका छात्राले अझै त्यो सुविधा पाउन सकेका छैनन् । सेनेटरी प्याडमै घोटाला भएका घटना पनि कहिलेकाहीँ सार्वजनिक हुने गर्छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले भने २०७७ देखि सबै वडाका महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आइरहेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई विद्यालयमार्फत र अन्य महिलालाई स्वास्थ चौकीमार्फत निःशुल्क सेनेटरी प्याड वितरण भइरहेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

गाउँपालिकाले दुई वर्षदेखि निःशुल्क सेनेटरी प्याड वितरण गरिरहेको हो । तर, कतिपय महिलाहरू अझै खुलेर सेनेटरी प्याड माग्न आउने गर्दैनन् । ‘कतिपय महिलाहरू अझै पनि सेनेटरी प्याड लिन लजाउँछन्, विगतभन्दा अहिले सेनेटरी प्याड लिन आउनेको संख्या भने बढेको छ,’ गाउँपालिका अध्यक्ष टासी लामाले भने । 

जनचेतनाको अभावका कारण महिलाहरूले सेनेटरी प्याड प्रयोग गर्न असहज मान्ने गरेको गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत अनमी जानु भट्टराईले बताइन् । यद्यपि पछिल्लो समय भने जनचेतनाको वृद्धिसँगै महिलाहरू खुल्न थालेका छन् । ‘हामीले सबै महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण गरिरहेका छौँ, विगतमा प्याड कसरी लगाउने, किन लगाउने भन्ने बारेमा सबै महिलालाई जानकारी थिएन । अहिले महिला स्वयंसेविका र स्कुल हेल्थ नर्सले गाउँगाउँमा सेनेटरी प्याडको फाइदाका बारेमा जनचेतना जगाउँदा प्याड लिन आउनेको संख्या बढेको छ ।’

महिला स्वास्थ्यकर्मी भएको स्वास्थ्य चौकीबाट महिलाहरू सेनेटरी प्याड लिन सहज मान्ने गरेको पनि उनले सुनाइन् । गाउँपालिकाले विगतमा सेनेटरी प्याड उत्पादन गर्ने मेसिन सञ्चालन गरेको थियो । तर, कोरोना निषेधाज्ञाको बेला उक्त मेसिन बिग्रियो । मेसिन बिग्रिए पनि गाउँपालिकाले हाल आयात गरेर सेनेटरी प्याड वितरण गरिरहेको छ । 





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १०:४५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया