कैलालीमा ४६ प्रतिशत मुद्दा फर्छ्योट हुन बाँकी

कैलालीमा आर्थिक वर्ष २०७८/२०७९ दर्ता भएकामध्ये ४६ प्रतिशत मुद्दा फर्छ्योट हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरि आएका र आर्थिक वर्ष ७८/७९ मा दर्ता भएका कुल मुद्दा मध्ये ४६ प्रतिशत मुद्दा फर्छ्योट हुन बाँकी रहेको अदालतले जानकारी दिएको छ ।

अघिल्लो वर्षका जिम्मेवारी सरि आएका मुद्दासहित तीन हजार ८८ मुद्दा मध्ये एक हजार चार सय २४ मुद्दा फर्छ्योट हुन बाँकी रहेका छन् । जिल्ला अदालत कैलालीले आर्थिक वर्ष २०७८÷७९ मा एक हजार छ सय ६४ मुद्दा फर्छ्योट भएको जनाएको छ ।

जिल्ला अदालत कैलालीका मुख्य न्यायाधीश जयानन्द पनेरुका अनुसार अघिल्लो वर्षका जिम्मेवारी सरि आएका जम्मा लगत मुद्दाहरू एक हजार १३ रहेकोमा सात सय ६२ फर्छ्योट भएका थिए । जसमा दुई सय ५१ बाँकी रहेका थिए । यस वर्ष नयाँ दर्ता भएका मुद्दाहरू दुई हजार ७५ रहेकोमा नौ सय दुई फर्छ्योट भएका थिए, भने एक हजार एक सय ७३ मुद्दा बाँकी रहेका छन् । 

मुख्य न्यायाधीश पनेरुका अनुसार लगत मुद्दाहरूमा जबरजस्ती करणी सम्बन्धीका दुई सय पाँच मुद्दा मध्ये ७३ मुद्दा फर्छ्योट भएका छन् । भने एक सय ३२ बाँकी रहेका छन् । यस्तै, लागु औषध सम्बन्धी दुई सय २९ मुद्दा मध्ये ५४ वटा मुद्दा फर्छ्योट भएका छन्, भने एक सय ७५ बाँकी रहेका छन् । 

लागु औषधका घटना तथा मुद्दाको प्रकृति हेर्दा अभिभावकको रेखदेखमा कमी, विद्यालयमा उच्च शिक्षा नमिल्नु र बालबालिका सँग वृद्ध वृद्धा नखेल्ने तथा बालबालिका र वृद्ध वृद्धा पनि सामाजिक सञ्जाल डिजिटल खेलमै बढी बस्नाले यी घटना बढ्ने गरेको मुख्य न्यायाधीश पनेरुले बताए । 

यस्तै, कर्तव्य ज्यान सम्बन्धीका २२ मुद्दा मध्ये १३ फर्छ्योट भएका छन्, भने नौ फर्छ्योट हुन बाँकी रहेका छन् । यसका साथै, जिल्लामा सबैभन्दा बढी मुद्दा दर्ता सम्बन्ध विच्छेदका रहेका छन् । सम्बन्ध विच्छेदका पाँच सय ५० मुद्दा मध्ये एक सय ६९ मुद्दा फर्छ्योट भएकोमा फर्छ्योट हुन बाँकी तीन सय ८१ मुद्दा रहेको मुख्य न्यायाधीश पनेरुले बताए । 



यी घटनाहरूको प्रकृति हेर्दा कयौँ घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लागेर सबै विदेशबाट पठाएको पैसा खर्च गरिदिनु, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने र श्रीमती तथा बालबच्चाहरूलाई पिट्ने र यी घटना बढ्नुमा सामाजिक सञ्जालको दुरुपयोग पनि मुख्य रहेको मुख्य न्यायाधीश पनेरुको भनाइ रहेको छ । 

कैलाली जिल्लामा आर्थिक वर्ष  २०७८/२०७९ मा चेक अनादरका मुद्दा दुई सय ९१ रहेको मा एक सय ६१ फर्छ्योट भएका छन् भने एक सय ३० फर्छ्योट हुन बाँकी रहेका छन् । चेक अनादर मुद्दा बढ्नुमा भने कानुन खुकुलो हुँदा मनोमानी ढङ्गले चाहे जतिको रकम अन्धाधुन्ध दिनु रहेको मुख्य न्यायाधीश पनेरुको भनाई रहेको छ । पनेरुका अनुसार बालबालिका संलग्न मुद्दा एक सय ४१ रहेकोमा ६३ फर्छ्योट भएका छन् भने ७८ बाँकी रहेका छन् ।



अदालतमा कार्यसम्पादन ढिला हुने गुनासो लाई सम्बोधन गर्दै मुख्य न्यायाधीश पनेरुले उक्त गुनासो जायज रहेको तर ढिला सुस्ती हुनुमा अदालतका कर्मचारीहरूको दोष नभएको स्पष्ट पार्दै कानुनले प्रक्रियामा जाँदा उक्त समय लाग्ने गरेको बताए । 

  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १२:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया