काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कुहिने र नकुहिने फोहोरलाई स्रोतमै छुट्याउन नगरबासीलाई आग्रह गरेका छन् । फोहोर वर्गीकरणका लागि सचेतना फैलाउन वातावरण तथा कृषि विभागले आयोजना गरेको कार्यक्रममा भेटिएका नागरिकसँग कुरा गर्दै प्रमुख शाहले यस्तो आग्रह गरेका हुन् ।
महानगरले भोलिदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा र छुट्टाछुट्टै सवारी साधनमा संकलन गर्दैछ । यसका लागि फोहोर उत्पादकले तोकिएको दिनमा तोकिएबमोजिम प्रकृतिको फोहोर मात्र निकाल्नु पर्नेछ ।
यदि कसैले मिसिएको फोहोर निकाल्यो भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना हुने विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि ऐनलाई प्रभावकारी बनाउन लागिएको हो ।
ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।
आजको सचेतना कार्यक्रम भित्री वडा लक्षित थियो । त्यसमा वडा १८, १९, २०, २४ र २५ वडामा पुगेर नागरिकलाई महानगरको फोहोर वर्गीकरणसम्बन्धी कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । यस क्रममा इन्द्रचोक, मखन, यट्खा, नरदेवी, बाङ्गेमुढा, क्षेत्रपाटीलगायत क्षेत्रमा माइकिङसहितको सचेतना र्याली गरिएको थियो ।
र्यालीको समापन गर्दै वडा २५ का अध्यक्ष राजेश डंगोलले सहरी सभ्यताका लागि स्वच्छता अभियानमा साथ दिन वडाबासीलाई आग्रह गरे ।
विभागले हिजो वडा १२, २१, २२, २३ लगायत क्षेत्रमा सचेतना कार्यक्रम सम्पन्न गरेको विभाग प्रमुख राईको भनाइ छ ।
जैविक फोहोरबाट गँड्यौलाले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ । पुनः चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न सकिन्छ ।
महानगरले नागरिक दायित्वका विषयमा भनेको छ, ‘भान्छामा फोहोर उत्पादन हुने बेलामै कुहिने र नकुहिने गरी २ भागमा बाँड्न सकिन्छ । यसो गर्यो भने त्यसपछि व्यवस्थापनका पक्षमा सजिलो हुन्छ । अब प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोग बढाउनुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।