बझाङको छबिसपाथिभेरा गाउँपालिकामा निवर्तमान जनप्रतिनिधिको पालामा बनेको पानीका मुहान जोगाउन निर्माण गरिएको रिचार्ज पोखरी अहिले सामाजिक सञ्जालमा चर्चामा छ । लगानीको तुलनामा निकै कमजोर काम भएको भन्दै पोखरीको विषय सामाजिक सञ्जालमा चर्चामा आएको हो ।
पोखरीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले पूर्वजनप्रतिनिधि तनावमा समेत छन् । रिचार्ज पोखरीको कामप्रति सन्तुष्ट नभएपछि यहाँका स्थानीयले गाउँपालिका अध्यक्ष/उपाध्यक्षको चर्को आलोचनासमेत गरेका छन् ।
निर्माण कार्यमा संलग्न एक सहभागीका अनुसार पोखरीको लागत २ लाख ५० हजार रुपैयाँ हो । निवर्तमान गाउँपालिका अध्यक्ष अक्कल धामीका छोरा आनन्द धामी उक्त योजनाका उपभोक्ता समिति अध्यक्ष हुन् । निवर्तमान पालिका अध्यक्ष धामीका छोरालाई आयोजना दिनकै लागि मात्र पोखरी निर्माण गरिएको स्थानीय बताउँछन् ।
‘पाँचवटा रिचार्ज पोखरी बनाउने र जम्मा २ लाख ५० हजार लगानी गर्ने भन्ने योजना रहेको थियो । तर, पोखरी भने तीनवटा स–साना खाल्डो मात्रै बने । पोखरी निर्माणको प्रस्तावना तयार गर्दा १० फिट चौडाइ र पाँच फिट गहिराइ बनाउने भन्ने निर्णय गरिएको थियो । तर, निर्माण हुँदा चौडाइ १० फिट बने पनि गहिराइ भने आधा फिट पनि बनेको छैन,’ नाम नखुलाउने शर्तमा एक स्थानीयले भने ।
गाउँपालिकाले कन्जेस्टेन्सी काटेर २ लाख भुक्तानी गरेको निवर्तमान गाउँपालिका उपाध्यक्ष राधिका रतालाको भनाइ छ । यसको अर्थ ५ वटा पोखरी निर्माण नगरेरै पूरा भुक्तानी दिएको बुझिन्छ । स्थानीयका अनुसार पूर्वपालिका उपाध्यक्ष रतालाले पनि उक्त रिचार्ज पोखरीको अनुगमन गरेकी थिइन् । तर, उनले भने यो कुरा स्विकार गरिनन् ।
प्राविधिक कर्मचारीले मात्रै पोखरीको अनुगमन गरेको उनको भनाइ छ । पाँचवटा पोखरी निर्माण गर्नुपर्नेमा काम नै पूरा नभएर कसरी योजना पास भयो भन्ने प्रश्नमा रतालाले आफूलाई यो विषयमा जानकारी नभएको भन्दै प्रतिक्रिया दिइन् ।
पोखरीको विषयमा नाम जोडिएपछि आफू अहिले तनावमा रहेको पनि उनले बताइन् ।
बजेट निकासा गर्दा मनोमानी
गाउँपालिका अध्यक्षकै छोरा उपभोक्ता समितिको अध्यक्ष भएपछि कसले के गर्छ भन्ने शैलीमा बजेट निकासा भएको उक्त पोखरी निर्माणका एक सचिवले बताए । ‘काम राम्रो गरौँ, भोलिका दिनमा ममाथि पनि प्रश्न उठ्छ भनेका थिए । तर, उहाँले मान्नु भएन,’ उनले भने, ‘मैले भनेको कुरा उहाँले नमाने पछि मैले काम गर्नै छाडे । पोखरीको आयोजनाको बैंक खाता खोल्दा मेरो नाममा खोलिएको थियो । तर, बजेट निकासा गर्दा मेरो हस्ताक्षर नै आवश्यक परेन । गाउँपालिका अध्यक्षकै छोराको उपभोक्ता समिति अध्यक्ष भएपछि जे गर्दा पनि हुँदो रहेछ ।’
उनले अगाडि भने, ‘आठ दिनमा काम सम्पन्न गरेर बजेट निकासा भएको थियो । कसरी काम गरे बान्नीमस्टाले जानून् ।’ निवर्तमान गाउँपालिका उपाध्यक्ष रतालाले पोखरी २०७५ मा निर्माण भएको बताइन् । स्थानीय भने २०७८ मा पोखरी निर्माण भएको बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।