प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको छ । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो ।
आइतबार दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौसम विज्ञान केन्द्रले गरेको छ । शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने उक्त केन्द्रले जनाएको छ ।
केन्द्रले दिउँसो उच्च तापक्रम हुने भएकाले घरबाहिरका गतिविधिमा संलग्न नहुन तथा लामो समयसम्म बाहिर काम गर्नुपर्ने कामदारहरूलाई आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ । चीनले मौसम चेतावनी प्रणालीमा चार किसिमका रङ्गको प्रयोग गर्दै आएको छ ।
मौसमसम्बन्धी गम्भीर चेतावनी दिन चीनले रातो, सुन्तले, पहेँलो र नीलो रङलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै आएको छ । आज जारी गरेको चेतावनी केही कम गम्भीर प्रकृतिको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।