धनगढी उपमहानगरले सुरु गर्यो निःशुल्क वडा क्लिनिक

धनगढीमा विशेषज्ञ वडा क्लिनिक सेवा सुरु भएको छ । धनगढी उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यका साथ सेवा सुरु गरेको हो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार एक कार्यक्रमका बीच सेवाको उद्घाटन गरे । स्वास्थ्य क्लिनिक उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले वडा तहबाट नै सेवा गरेकोमा उपमहानगरको प्रशंसा गरे ।

स्वास्थ्य सेवा महत्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री भट्टले आफूहरु जहिले पनि सहकार्य गर्न तत्पर रहेको बताए । स्वास्थ्य उपचारजस्तो महत्वपूर्ण कुरामा सबैको साझेदारी आवश्यक रहेको उनले बताए । 

उनले प्रदेश सरकारले सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने काम तीव्र पारिएको बताए । प्रदेश सरकारले लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने लक्ष्य रहेको उनले बताए । 

प्रदेश सरकारले विपन्न नागरिकको ५ हजारसम्मको उपचार गरिदिने नीति रहेको उनले उल्लेख गरे । वडा क्लिनिक कार्यक्रमलाई आमा बचाउ अभियानका साथसमेत हेरिने मुख्यमन्त्री भट्टको भनाइ छ । 

वडा क्लिनिकमा अल्ट्रा साउण्ड, फिजिसियान, ओपिडी सेवासहितको विशेषज्ञ सेवा दिने धनगढी उपमहानगरका मेयर गोपाल हमालले बताए । ‘क्लिनिकमा स्वास्थ्य परीक्षण मात्र नभएर औषधिसमेत निःशुल्क दिनेछौँ’, मेयर हमालले भने ‘यसमा नगरको बजेट नभएर सबैको साझेदारी रहनेछ । नगरपालिका, प्रदेश सरकार र नीजि व्यवसायीको समेत सहभागिता हुनेछ ।’ 



उनले ग्रामीण जनतालाई राज्यको अनुभूति दिनका लागि १९ वडा बाट सेवा सुरु गरेको बताउँदै मेयर हमालले उपमहानगरको सबै वडामा निःशुल्क एम्बुलेन्स सेवा दिने नीतिसमेत रहेको बताए ।

उपमहानगरपालिकाको वडानम्बर १९ बाट सेवाको सुचारु हुनेछ । नगरवासीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै वडामा विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालनमा ल्याएको मेयर गोापल हमालले बताए । सेवा प्रत्येक महिना तालिकाअनुसार १९ वटै वडामा निःशुल्क प्रदान गरिने हमालले जानकारी दिए ।



मेयर हमालले आफूलाई चढ्न दिइएको गाडी उक्त सेवा सञ्चालनका लागि स्वास्थ्य शाखालाई प्रदान गरेका छन् । नगरप्रमुखको रुपमा कुनै पनि सुविधा व्यक्तिगत उपभोग नगर्ने घोषणा गरेका हमालले चुनावी प्रतिबद्धताअनुसार १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चाचलन गर्ने बताएका थिए । 

यस्तै, धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने दुईजना विशेषज्ञ डाक्टरको तलब र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यसअघि नै भएको छ । 

उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ ।

  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १८:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया