आक्रामक बन्दै बार्सिलोना

जति नयाँ सिजन २०२२/२३ नजिकिँदै छ, बार्सिलोना उत्तिकै बलियो र आक्रामक देखिन थालेको छ । बार्सिलोना आफ्नो टोलीलाई बलियो बनाएर प्रतिद्वन्द्वीलाई चिन्ता थप्ने योजनामा छ । 

आर्थिक समस्याका बाबजुद स्पेनिस क्लब बार्सिलोनाले यस ट्रान्सफर विन्डोमा महत्वपूर्ण खेलाडी भित्र्यायो । विशेषगरी अग्रपंक्तिमा बार्सिलोना आक्रमण देखिएको छ ।

गत सिजनको दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको बार्सिलोनाले यस सिजन युरोपका शीर्ष खेलाडीलाई क्लबमा अनुबन्धित गर्‍यो । प्रशिक्षक जाभी हर्नान्डेजको आगमनपछि राम्रो प्रदर्शन गर्न थालेको टोलीमा ओसुमाने डेम्बेलेले पनि सम्झौता नवीकरण गरेका छन् । 

जाभी आउनुअघि उनले क्लब छाड्ने पक्काजस्तै थियो । तर, जाभीको आगमनले उनको प्रदर्शनमा व्यापक सुधार आयो र निर्णय बदले । गत सिजन पिएर एमेरिक औबामियाङ इंग्लिस क्लब आर्सनल छाडेर बार्सिलोना आएपछि क्लबको आक्रमण थप बलियो बनेको थियो ।

यसपटक बार्सिलोनाले ब्राजिलियन विंगर राफिन्हा र पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई भित्र्याएको छ । बार्सिलोनाका लागि यस सिजन गोल गर्ने जिम्मेवारी लेवान्डोस्की र औबामियाङमा रहनेछ । विंगरमा क्लबसँग पर्याप्त विकल्प छ ।

डेम्बेले र राफिन्हाले विपक्षी डिफेन्सलाई आफ्नो गतिले समस्यामा पार्न सक्छन् । त्यस्तै, टोलीमा फेरान टोरेस र अन्सु फाती जस्ता खेलाडी पनि त छन् जसले विपक्षीलाई गाह्रो बनाउन सक्छन् । 



डिफेन्समा सुधार हुँदै

क्लबले डिफेन्स सुधार गर्ने क्रममा चेल्सीबाट आन्द्रियस क्रिस्टेन्सेनलाई फ्रि ट्रान्फरमा अनुबन्ध गर्‍यो । आफ्नो सम्झौता सकिएपछि डेनिस डिफेन्डरले बार्सिलोनाको प्रस्ताव स्वीकारेका थिए । क्लबले सेभियाका डिफेन्डर जुल्स कुन्डेमाथि पनि नजर राखिरहेको छ । यदी उनी क्याप नोउ भित्रिए टोलीको डिफेन्स अझै बलियो बन्नेछ । 



यसबाहेक क्लबमा जेरार्ड पिके, रोनाल्ड अरौजो, एरिक गार्सिया, जोर्डी अल्बा र  सर्जिनो डेस्ट जस्ता खेलाडी पहिलेदेखि नै उपस्थित छन् । उनीहरुलाई साथ दिन क्लबले अर्को डिफेन्डर भित्र्याउन सक्छ । उक्त सुचिमा सेजार एज्पिलीक्वेटा र मार्कोस अलोन्सोको नाम छ ।

मिडफिल्डमा पर्याप्त विकल्प

बार्सिलोनाको मिडफिल्डमा युवा प्रतिभाको कमी छैन । एकेडेमीबाट हुर्के बढेका सर्जियो बुस्केट्सलाई युवा पेड्री, गाभी र निकोले राम्रो साथ दिएका छन् । फ्रयाङ्क केइसीको आगमनले टोलीको मिडफिल्ड अझै सशक्त बनेको छ । 

त्यसैले क्लबले फ्रयांकी डि जोङलाई बेच्न चाहे पनि दिन प्रतिदिन उक्त प्रयास कठिन हुँदै गएको छ ।   यदी उनी पनि टोलीमै रहन्छन् भने उनको प्रतिभालाई लिएर कुनै शंका छैन । 

  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार ११:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया