सिसिटिभीको गहिराइमा पुगेर अध्ययन हुन्छ, तोडमोड हुन दिन्नौँ : प्रदीप ज्ञवाली
फाइल तस्बिर

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिई करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराइमा पुगेर सत्य तथ्य छानबिन गर्ने र घटनालाई तोडमोड गर्न नदिने बताएका छन् । 

उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको बताए  । उनले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्ने कुरा मात्रै रहेको उल्लेख गरे । उपमहासचिव ज्ञवालीले आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको बताए । उनले बनावटी रूपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरी तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् । सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको उनले बताए ।

उनले भने, ‘अहिले बनाइएका सबै बहाना भन्ने कुरा मात्रै हुन् । आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको छ । मैले नै घरमा हरेक पटक एक थरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुई थरी तरकारी पकाउने अवस्था मेरो छैन । मन्त्री पनि भएँ, सांसद पनि छु तर मेरो घरमा दुई थरी तरकारी बनाउने स्थिति छैन भने अरूको के होला ? बनावटी अभाव मलको चर्को छ ।’

उपमहासचिव ज्ञवालीले राज्य डरलाग्दो रूपमा विचौलियाहरुको नियन्त्रणमा जान थालेको बताए । उहाँले अहिलेको गठबन्धन सरकार राजनीतिक गठबन्धनको रूपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तीय गठबन्धनले भ्रष्टाचार, कालाबजारिया र कमिसन तन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाए । उनले सरकार विद्युतीय सवारीसाधन मुख्य सहरमा चलाउने कुरामा गैर जिम्मेवार भएर बसिरहेको आरोप लगाउँदै पछिल्लो समय बजारको अनुगमनमा पनि ध्यान नदिएको बताए ।





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार ११:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया