सहर व्यवस्थापनका लागि आचरण सुधारको खाँचो छ : बालेन शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ बन्दै प्रश्न गरेका छन् । 

कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार उनले एकपछि अर्को प्रश्न गरेका हुन् । साथै, मेयर शाहले खानेपानीको पाइप बिच्छ्याउन सहमति माग भइआएका वडा नं २, ३, ४ र ५ को कामको विषयमा पनि उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीलाई प्रश्न गरेका थिए । 

त्यस्तै, उनले विद्युत् प्राधिकरणका पदाधिकारीलाई वडा नं ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्बाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, मालीगाउँ, कालोपुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि छाडिएको सडक कहिलेसम्ममा पुनःस्थापना हुन्छ भन्ने पुनः प्रश्न गरे ।

बैठकमा सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत् प्राधिकरणलगायत कार्यालयका पदाधिकारीले बर्खायाममा सडक कालोपत्र गर्न नसकिने बताएका थिए । पाइप तथा बिजुलीका तार बिच्छ्याउन खनिएका सडक पानी पर्न छाडेपछि कालोपत्र हुने उनीहरूले भनाइ राख्नुभयो ।

प्रमुख शाहले सहर व्यवस्थापनका लागि आचरण सुधारको खाँचो रहेकामा पनि जोड दिए । सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा परिवर्तन आउने उनको धारणा थियो ।  

‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिला सफ्टवेयरमा काम गरौँ, त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ,’ मेयर शाहले भने । 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार ८:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया