‘अस्ट्रेलियाको डढेलोमा मृत्यु र विस्थापित जनावरको संख्या ३ अर्ब’
फरकधार / ३ साउन, २०७९

डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अस्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनले जनाएको छ । डढेलो र खडेरीले थप प्रजातिहरू लोप हुने दिशामा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।  

वातावरणीय अवस्थाको पाँच–वार्षिक प्रतिवेदनले भूमि र समुद्रमा वैज्ञानिकहरूले चित्रण गरेको वनस्पति र जीवजन्तुको ‘खराब र बिग्रँदै गएको’ अवस्थालाई उल्टाउन नाटकीय कार्यको लागि आह्वान गरेको छ ।

२० औं शताब्दीको सुरुदेखि नै अस्ट्रेलियाको औसत जमिनको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस तातो बनाउने जलवायुले क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ । ‘दबाबलाई पर्याप्त रूपमा व्यवस्थापन गर्न नसक्दा प्रजातिहरू लोप हुने क्रम जारी रहनेछ,’ वैज्ञानिकहरूले प्रतिवेदनमा चेतावनी दिएका छन् । 



अष्ट्रेलियाका वातावरणमन्त्री तान्या प्लिबर्सेकले यो ‘चकित पार्ने दस्तावेज’ भएको बताइन् । उनले अगाडि थपिन्, ‘यसले अष्ट्रेलियाको वातावरणमा संकट र गिरावटको कथा बताउँछ’, उनले भनिन् । 



पूर्ववर्ती कन्जरभेटिभ सरकारको नेतृत्वमा डिसेम्बर २०२१ मा रिपोर्ट प्राप्त भए पनि त्यो सार्वजनिक नभएको वामपन्थी लेबर पार्टीका सदस्य प्लिबर्सेकल बताइन् । मे महिनामा अस्ट्रेलियामा निर्वाचन सम्पन्न भएको थियो ।

अस्ट्रेलियामा सन् २०१९ देखि सन् २०२० को ‘बुस फायर’मा  ८० लाख हेक्टर भन्दाबढी देशी वनस्पति जलेको र १ देखि ३ अर्ब जनावर मारिएको वा विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् १९९० यता लाखौं हेक्टर प्राथमिक वन फडानी गरिएको प्रतिवेदनमा उल्लेख छ । अस्ट्रेलियाको वातावरण संरक्षण कानुन मूल्यांकन नगरी सन् २००० र २०१७ को बीचमा खतरामा परेका प्रजातिको ७० लाख हेक्टरभन्दा बढी बासस्थान खाली गरिएको थियो । 

पाँच वर्षमा अस्ट्रेलियाको वातावरणीय कानुनअन्तर्गत खतरामा परेका प्रजातिहरूको सूचीमा राष्ट्रिय महत्वका २०० भन्दा बढी वनस्पति र जनावरका प्रजातिहरू थपिएका छन् । 

‘अस्ट्रेलियाले अन्य कुनै पनि महादेशको तुलनामा धेरै स्तनधारी प्रजातिहरू गुमाएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘नयाँ प्रजातिहरूको संख्या पाँच वर्षमा आठ प्रतिशतले खतरामा परेको छ ।’   

  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार ११:२:१०,   अन्तिम अपडेट : साउन ३, २०७९ मंगलबार ११:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया