नेपाली टोली स्वदेश फर्कियो

आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ । भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकार गरे । 

कप्तान लामिछानेले स्कटल्याण्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङमा समस्या पहिलेदेखि नै भएको र अहिले आएर दोष देखिएको बताए । कप्तान लामिछानेले नेपाली टोलीले आफ्नो कमी–कमजोरीलाई अध्ययन गरेर सुधार गर्नुपर्ने समय आएको बताए । 

उता, प्रशिक्षक पुबुदु दासानायकेले भ्रमण सोचेजस्तो नभए पनि अनुभवका आधारमा भने निकै सकारात्मक भएको प्रतिक्रिया दिए । टोलीमा अहिले युवा खेलाडीको बाहुल्य भएकाले अनुभवको धेरै खाँचो रहेको उनको भनाइ छ । 

आयोजक स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली टोली नेपाल फर्किएको हो । स्कटल्याण्ड भ्रमणको क्रममा नेपालले चार खेल खेलेको थियो । जसअन्तर्गत नेपाली एक खेलमा सुखद् नतिजा निकाल्दा बाँकी तीन खेल गुमाएको थियो । नामिबियासँगको दुई खेलमध्ये दुवैमा नेपाल पराजित भएको थियो भने घरेलु टोलीसँगको पहिलो खेलमा नेपालले सुखद् नतिजा निकाल्दा अन्तिम खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । 

शृंखलामा बलिङतर्फ औसत प्रदर्शन गरेपनि ब्याटिङमा भने नेपालको खराब प्रदर्शन रह्यो । तालिकामा २० खेल खेलेर १७ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ । 

दोस्रो स्थानको स्कटल्याण्डले २४ खेलबाट ३४, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (युएई)ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, पाँचौँ स्थानको नामिबियाले १८ खेलबाट १८ र पुछारमा रहेको पपुवान्युगिनी (पिएनजी)ले २० खेलबाट २ अंक जोडेका छन् ।
 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १८:४०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया