गाँजाखेती गर्ने वातावरण बनाउन सभामुखलाई चेम्बरको ध्यानकर्षण

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधिन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ ।
 
सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा मंगलबार भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न एघार विधेयक अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो । 

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग विचाराधिन अवस्थामा रहेका धेरै विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुन नसकेको बताएका थिए । 

धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्नेसम्बन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ । 

बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचनअघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे ।
 
सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले मुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुखलाई आग्रह गरे । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रर्वद्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न वनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गराए ।

संघीय निर्वाचनअघि अर्थतन्त्रसँग जोडिएका सबै विधेयक पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए । चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकलाई अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । 

छलफलका क्रममा रहेका आर्थिक विधेयकहरुका सम्बन्धमा सम्बन्धित समितिका सभापतिसँग जानकारी लिने समेत सभामुख सापकोटाले बताए । सबै आर्थिक विधेयकलाई प्राथमिकतामा राखेर अघि बढाउन आफूले पहल गर्ने सभामुख सापकोटाको भनाइ छ । 



सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयक संसदीय समितिमा झण्डै चार वर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।



  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार २०:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया