छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मालाई बयानका लागि बोलायो, सम्पादकसँग पनि सोधपुछ गर्ने
'सामान्य कर्मचारीदेखि सुरक्षाकर्मीसम्मलाई सोधपुछ'
फाइल तस्वीर

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले बजेट निर्माण सहयोगी भूमिका खेल्ने सामान्य कर्मचारीदेखि अर्थ मन्त्रालयमा खटिने सुरक्षाकर्मीसम्मलाई सोधपुछ गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले निवर्तमान मन्त्री शर्मालाई पनि सोधपुछका लागि बोलाउनेबारे छलफल गरेको छ । कहिले बोलाउने भन्ने टुंगो लागिनसकेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए । उनले बुधबार वा बिहीबार बस्ने समिति बैठकमा निवर्तमान अर्थमन्त्री शर्मालाई सोधपुछका लागि बोलाउने तयारी रहेको पनि बताए ।

'पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बोलाउने मिति तय भएको छैन । बुधबार नै बोलाउने कुरा भए पनि संसदको बैठकको कारण मिति तय भएन । तर, भोलि वा पर्सिभित्रमा निवर्तमान अर्थमन्त्रीलाई आमन्त्रण गछौं,' उनले भने ।

अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको र सिसिटिभी फुटेज डिलिट गराएको आरोप लागेपछि संसदीय विशेष समितिले छानबिन गरिरहेको हो ।

समितिले पूर्वअर्थसचिवहरूसँग पनि छलफल गर्ने भएको छ । बुधबार बस्ने बैठकमा बजेट निर्माण प्रक्रियामा विगतको अर्थ मन्त्रालयको अभ्यासका विषयमा अनुभवी पूर्वअर्थसचिव र राजश्व सचिवसँग छलफल गर्ने तयारी गरेको सचिव अर्यालले बताए ।

त्यस्तै, समितिले निवर्तमान अर्थमन्त्री शर्माले बजेट निर्माणमा बाहिरी मान्छे प्रवेश गराएको समाचार बाहिर ल्याउने अन्नपूर्ण पोस्ट र कान्तिपुर दैनिकका सम्पादकसँग पनि छलफल गर्ने तयारी रहेको बताए ।



'बुधबार बजेट निर्माण प्रक्रियामा विगतको अर्थमन्त्रालयको अभ्यास कस्तो छ भन्ने सन्दर्भमा अनुभव भएका पूर्वअर्थसचिव र राजश्व सचिव बोलाएर समितिको बैठकमा छलफल गर्ने कार्यक्रम रहेको छ,' उनले भने, 'दिउँसो बस्ने बैठकमा अर्थमन्त्रीको विषयमा समाचार बाहिर ल्याउने मिडिया अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिक सम्पादकसँग छलफल गर्ने तय भएको छ ।'

अर्थ मन्त्रालयको १३ र १४ जेठको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्न नेपाल प्रहरीको ल्याबमा पठाउने भएको छ । त्यसअघि डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको थियो ।



यसअघि फुटेज माग गर्दा सिसिटिभीको रेकर्ड रहने क्षमता १३ दिनको मात्रै भएको भन्ने जवाफ मन्त्रालयले पठाएको थियो । समितिले सिसिटिभी १४ जेठ फुटेज मागेमा मन्त्रालयले त्यो दिनको फुटेज नभएको भन्दै १७ देखि ३० असारसम्मको फुटेज पठाएको थियो ।

त्यसपछि अर्थ मन्त्रालयले समग्र सिसिटिभी सिस्टम नै समितिलाई दिएको छ । मन्त्रालयले समितिको आजको बैठकले अर्थ मन्त्रालयको समग्र सिसिटिभी सिस्टमलाई फुटेज रिकभर गर्नका लागि प्रक्रिया पुर्‍याएर प्रहरीको फरेन्सिक ल्याबमा पठाउन निर्णय भएको हो । सचिव अर्यालले विज्ञको सुझाव अनुसार रिकभर गर्ने अथोरिटी सफ्टवेयर आवश्यक हुने भएकाले नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको हो ।

'अर्थ मन्त्रालय १४ गतेको सिसिटिभी फुटेज डिलिट भएको बताएकाले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको सबै सिस्टम नै उपलब्ध भएको छ । त्यसलाई रिकभरको लागि प्रहरी ल्याबमा लाने कुरा भएको छ’ उनले भने ।

सचिव अर्यालले समितिले संसदले समितिलाई दिएको क्षेत्राअधिकारभित्र रहेर छानबिन कार्य गरिरहेको बताए । सचिव अर्यालले समितिले अहिलेसम्म अनुसन्धान क्रममा रहेकाले निर्णय कस्तो गर्ने भन्ने विषयमा नपुगेको बताए ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार २०:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया