माधव नेपालको दाबी : संघीय निर्वाचनमा पार्टीको सिट बढ्छ
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फुटाएको बताएका छन् ।

बुधबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को स्कुल विभागले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । 

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकतावद्ध गर्न नसकेको आरोप लगाए । उनले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताउनु भयो । अध्यक्ष नेपालले ओलीले अहंमता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको बताए । 

'एकलौटी बैठक बसेर केपी ओली पक्षका मान्छेको मात्रै उपस्थिति गराएर एकलौटी पार्टीको विधान संशोधन भयो । हामीले नेकपा एमाले कम्युनिष्ट पार्टी नरहेको थाहा पाएपछि हामी बाहिरियौँ । त्यसमा राजा महाराजाका गन्धहरु आए । त्यसपछि सबै साथीहरुले नयाँ ढंगबाट जानुपर्ने कुरा राखेपछि नै हामी नयाँ पार्टी निर्माण गरेर आएका हौँ’ उनले भने ।

अध्यक्ष नेपालले गठबन्धको गीत बढी गाएका कारण स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको ठोकुवा गरे । उनले गठबन्धनको भरोसा बढी गर्नाले र अरुको सहारामा बाँच्ने बानीले पार्टीलाई नोक्सान पुर्‍याएको बताए । 

अध्यक्ष नेपालले आफ्नै तयारीमा स्थानीय तहको निर्वाचन लडेको भए धेरै ठाउँमा चुनाव जित्ने दाबी गरे । उनले चुनाव जित्ने ठाउँको संख्यामा वृद्धि मात्र नभइ चुनाव चिन्हको पनि प्रचार हुने बताए । 



उनले भने, ‘हामीले कलम चिन्हमा उठाएका उम्मेदवारहरू निर्वाचन आयोगको रेकर्डमा हुनुहुन्छ । समानुपातिकका २०/२५ लाख मत प्राप्त गर्‍यौं भने २० देखि २५ सिट हामीले पाउँछौँ । प्रत्यक्ष निर्वाचनमा हाम्रो क्षमता बढ्छ ।’

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा धेरै सिट ल्याउनका लागि तयारीमा जुट्न आवश्यक रहेको बताए । उनले प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको सिट बढ्ने दाबीसमेत गरे ।



  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १५:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया