यु-२० टोली शुक्रबार भारत जाने, राम्रो नतिजा ल्याउने मुख्य प्रशिक्षक केसीकाे दाबी

भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाली टोली शुक्रबार भारत जाने भएको छ । देशभरबाट खुला प्रतिस्पर्धा गराई बनाइएको टोलीबाट नेपालको लक्ष्य उपाधि रहनेछ । 

सोही कारण कडा मिहिनेत गरेको युवा टोलीले साफमा इतिहास रच्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने दाबी गरे । 

अखिल नेपाल फुटबल संघले देशभरबाट खुला प्रतिस्पर्धा गराई यु–२० टोलीको निमार्ण गरेको हो । कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले २३ खेलाडीको टुंगो लगाइसकेका छन् । 

ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरुले राम्रो नतिजाको  लक्ष्यसहित अभ्यासलाई तीव्रता दिइरहेका हुन् । मुख्य लक्ष्य साफ यु–२० प्रतियोगितामा राम्रो गर्ने रहेको छ । 

खेलाडी छनोटदेखि प्रारम्भिक टोली निमार्णका लागि मिहिनेत गरेका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीको अभ्यसाबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी भएको बताए । 

प्रशिक्षक मेघराज केसीले खुला प्रतिस्पर्धाबाट ७ सय खेलाडीबाट ४१ खेलाडी छनोट गरेका थिए । कोरोना महामारीका कारण समूहका कार्यक्रम नहुँदा अहिलेको यु–२० समूहलाई सहयोगी टोली खुला प्रतिस्पर्धाबाट लिएको थियो । 



छनोट हुँदा केही सहिद स्मारक ए डिभिजन लिग खेलेका अनुभवी खेलाडीसहित बी, सी डिभिजन खेलेको खेलाडीको संयोजन भएको छ । टोलीलाई साफ यु–२० को प्रतियोगितामा खेलाएर अनुभव दिलाउनुपर्ने बाध्यता अहिलेको अवस्था रहेको छ । 

नेपाली टोलीका सदस्य तथा राष्ट्रिय टोलीका सदस्य आयुष घलानले टोलीको लक्ष्य साफ जितेर एएफसी छनोट भएको बताए । यस्तै, सुनसरीबाट यु–२० टोलीमा अटाएका अमर श्रेष्ठले अभ्यास राम्रो भएको बताउँदै प्रतियोगिताको सहभागिता राम्रो हुने बताए । 



जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । च्याम्पियनसिपका लागि यसअघि तालिका पनि सार्वजनिक भइसकेको छ । 

उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कलिङ स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । 

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ । त्यस्तै, भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन् ।
 

  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १८:१७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया