टेक अफ हुनेबित्तिकै विन्डशील्ड चर्किएको भेटिएपछि भारतीय निजी विमान कम्पन्नी ‘गो फर्स्ट’को जहाज जयपुरमा अवतरण गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीबाट गुवाहाटीका लागि उडेको यस विमानको विन्डशील्डमा टेक अफ हुने बित्तिकै चर्किएको देखिएको थियो ।
खराब मौसम र दिल्लीमा भारी वर्षाका कारण गो फर्स्टको ‘एयरबस ए३२० नियो’ विमानलाई दिल्ली फर्काउनुको सट्टा जयपुरमा अवतरण गरिएको बताइएको छ ।
देशको हवाई सेवा सञ्चालन गर्ने सरकारी निकाय नागरिक उड्डयन महानिर्देशनालयले यस विषयमा छानबिन गरिरहेको जनाएको छ ।
यसअघि आइतबार शारजाहबाट हैदरावाद गइरहेको इन्डिगोको विमान पाकिस्तानको कराँचीमा आपतकालीन अवतरण गर्नुपरेको थियो ।
आइतबार नै कालीकटबाट दुबई गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान मस्कटमा अवतरण गर्नुपरेको थियो । विमानमा जलेको गन्ध आएको बताइएको छ ।
जुलाई ५ मा, स्पाइसजेटको दिल्ली-दुबई उडान कराचीमा आपतकालीन अवतरण गरिएको थियो । विमानको इन्धन सूचकमा केही त्रुटिहरू देखिएपछि आपतकालनी अवतरण गराइएको थियो ।
सोही दिन इन्डिगोको विमान इन्दौरमा अवतरण गरेपछि केबिनमा धुवाँ देखिएको खबर आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।