मुगुका अग्नि पीडितको पीडा : घाम लागे जंगलमा, पानी परे जाग्राम
फरकधार / ५ साउन, २०७९
९ महिनादेखि पालमा बसेका मुगुका अग्नि पीडित । तस्बिर : खड्क सुनार/न्युज कारखाना

मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास भएको छ । 



आगलागीबाट गमगढी बजारका २१ वटा घर पूर्णरूपमा जलेर नष्ट भएका थिए । अहिलेसम्म उचित बासस्थान नपाएका पीडित बर्खा लागेसँगै थप बिचल्लीमा परेका छन् ।

राम्रोसँग ओत लाग्ने घर नहुँदा उनीहरू वर्षा लागेसँगै बिचल्लीमा परेका हुन् । उनीहरू घाम लाग्दा शीतलता लिन जंगलतिर धाउन्छन् भने राति पानी परेमा जाग्राम बस्नुपर्ने अवस्था रहेको गुनासो गर्छन् । 



दिनमा पानी पर्दा छिमेकी वा आफन्तको घरमा ओत लाग्न जान्छौँ । तर, राति पानी परे ओत लाग्ने नमिल्ने भएकाले रातभर जाग्राम बस्नुपर्छ,’ अग्नि पीडित झम्बा तामाङले बताइन् । उनी मात्र होइनन अन्य अग्नि पीडितहरूको पीडा उही छ । घाम र पानीबाट मात्र होइन पीडितहरु सर्पजस्ता विषालु जीवजन्तुबाट उत्तिकै जोखिममा छन् । 



पछिल्लो समय लगातार परेको वर्षाका कारण सर्पले सास्ती दिने गरेको उनीहरु बताउँछन् । पानी परिरहेका कारण राति पहिरो र सर्प आउँछ कि भनेर हेरिरहनुपर्छ,’  पीडित गुरु तामाङको दुःखेसो छ । 

सरकारले मात्र होइन यहाँ क्रियाशील विभिन्न संघसंस्थाले सुरुमा चासो देखाए पनि पछि पीडितको समस्या समाधानमा चासो नदिएको पीडित गुनासो गर्छन् ।  

आगलागी भएको दोस्रो दिन नै  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमन गरेर घरहरूको पुनर्निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए । घरको पुनर्निर्माणको लागि पीडित र छायाँनाथ रारा नगरपालिकासँग नक्सा पास गर्न बारम्बार पहल गरेको र घर बनाउँदा भुकम्प मापदण्ड, भवन आचारसंहिताको मापदण्ड पालना गरि वडा कार्यालयबाट सिफारिस गरि पहिलो किस्ताको रकम प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

‘प्रदेश सरकारबाट आएको रकम कोषमा जम्मा भएको छ,’ प्रजिअ महतले भने,’ पीडितले नक्सा पास गरेर आए प्रदेश सरकारबाट प्राप्त रकम प्रदान गरिनेछ ।’ प्रदेश सरकारले क्षतिपुर्तिको आधारमा अधिकतम ४ लाखसम्म रकमको राहत दिने प्रजिअ महतको भनाइ छ । 

  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १४:७:५९,   अन्तिम अपडेट : साउन ५, २०७९ बिहीबार १४:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया