मकवानपुर जिल्लाका जनप्रतिनिधिहरूले निर्वाचित भएर दुई महिना बितिसक्दा पनि चुनावमा भएको खर्च विवरण बुझाएका छैनन् । कानुनबमोजिम निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि जनप्रतिनिधिहरूले चुनावमा भएको खर्चको विवरण अझै नबुझाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको स्थानीय तहहरूमा ५ सय ५१ जना जनप्रतिनिधिहरू रहेका छन् । तीमध्ये १ सय ५० जनाले मात्रै खर्च विवरण पेस गरेको निर्वाचन कार्यालयले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको १ सय ५ जना प्रतिनिधिमध्ये ५५ जनाले चुनावी खर्च विवरण पेस गरेका छन् । यस्तै, राक्सिराङ गाउँपालिकाका ४ जना, कैलाश गाउँपालिकाका ५ जना, बागमती गाउँपालिकाका ६ जना र मकवानपुरगढी गाउँपालिकाका १३ जना जनप्रतिनिधिहरूले कानुनबमोजिम तोकिएको समयमा खर्च विवरण पेस गरेका छन् ।
यस्तै, मनहरी गाउँपालिकाका ९ जनाले खर्चको विवरण बुझाएकामध्ये २ जनाले विलम्बमा (कानुनले दिएको समय नाघेपछि) खर्च विवरण पेस गरेका छन् । भीमफेदी गाउँपालिकाका ३० जनामध्ये १८ जनाले विलम्बमा खर्च विवरण पेस गरेका छन् । थाहा नगरपालिकाका २२ जनामध्ये ९ जनाले विलम्बमा खर्च विवरण पेस गरेका छन् ।
त्यसै गरी, बकैया गाउँपालिकाका ६ जनामध्ये १ जनाले विलम्बमा खर्च विवरण पेस गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस्तै इन्द्र सरोबर गाउँपालिकाको कुनै पनि जनप्रतिनिधिले चुनावी खर्च विवरण पेस नगरेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।