बाजुराको पीडा : स्वास्थ्यचौकीमा भेटिएनन् स्वास्थ्यकर्मी, फर्किँदा कार्तिकाले बाटोमै जन्माइन् बच्चा
फरकधार / ५ साउन, २०७९

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी एक आमाले बाटोमै शिशुलाई जन्म दिएकी छन् । स्वामीकार्तिक खापर गाउँपालिका- २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षीया कार्तिका विकले बाटोमै शिशुलाई जन्म दिएकी हुन् । 

सुत्केरी व्यथा लाग्नेबित्तिकै आफन्तले गाउँबाट एक घण्टा दूरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएका थिए । घरमा ल्याउँदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरालाई जन्म दिएको स्थानीय बलबहादुर विकले बताए । कार्तिका विकको यो तेस्रो बच्चा हो ।

‘स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी होलान् भनेर लग्यौँ, त्यहाँ कोही पनि  नभएपछि फिर्ता ल्याउँदै गर्दा बाटोमै छोरा जन्मिएको हो’ बल बहादुर विकले भने । 



वडा अध्यक्ष अजयबहादुर विकले माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको प्रष्ट पारे । स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका थिए । गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि स्वास्थ्य चौकी कर्मचारीविहीन भएको अजयले बताए । 



स्वास्थ्यचौकीमा कार्यरत अनमी, अहेव कसैको पनि करार म्याद थप गाउँपालिकाले गरेको छैन् । आवश्यकता आधारमा मात्र करार थप गर्ने वा विज्ञापनमार्फत भर्ना गर्ने बताएको भए पनि गाउँपालिकाले अहिलेसम्म कुनै निर्णय लिएको छैन । अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नवीकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १९:४४:४७,   अन्तिम अपडेट : साउन ५, २०७९ बिहीबार १९:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया