नेपाल आएका १० हजार ९५३ जना विदेशी कहाँ छन् ?
फाइल तस्बिर

घुम्नका लागि नेपाल आउने ठूलो संख्यामा पर्यटक नेपालबाट नफर्कने गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९ औँ वार्षिक प्रतिवेदनमा नेपाल घुम्न आएका ठूलो संख्यामा पर्यटक समयमै नफर्कने गरेको औंल्याएको हो । 

महालेखाका अनुसार सन् २०१८ देखि २०२१ सम्मको अवधिमा नेपाल प्रवेश गरेकामध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ । उनीहरू भिसा अवधि सकिएपछि पनि स्वदेश फर्केको रेकर्ड अध्यागमन विभागमा भेटिँदैन । 

विभागले २०७६ माघ १३ गते देखि नेपाल भित्रने विदेशीको आगमन, प्रस्थान र भिसासम्बन्धी अभिलेखीकरण गर्ने उद्देश्यले एक सफ्टवेयरमा प्रयोगमा ल्याएको थियो । तर, सफ्टवेयरमा विदेशी पर्यटकहरूको बसाई अवधि, सुरु प्रस्थान र गन्तव्य देश तथा भिसा अनुसारको विवरण उल्लेख गरेको नपाइएको महालेखाले जनाएको छ । 

‘सन् २०१८ देखि २०२१ सम्मको तथ्याङ्कअनुसार नेपालमा आगमन गरेका विदेशी नागरिकमध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ,’ महालेखाले भनेको छ, ‘यो वर्ष (आव २०७७/७८) भिसा अवधि समाप्ति पश्चात् बढी अवधि बसेका २३२ जना, भिसा विपरीत कार्य गरेको र गैर कानुनी कार्य लगायतमा संलग्नसमेत २७७ जना विदेश नागरिक निष्कासन गरेको देखिन्छ ।’ 

अध्यागमन विभागले नेपालमा अवैध तरिकाले बस्ने पर्यटकको विवरण तयार गर्ने र कारबाही गर्ने प्रणाली तयार नगरेको महालेखाले जनाएको छ । ‘नेपालमा रहेकामध्ये भिसा अवधि सकिएका पर्यटकको विवरण तयार गरी अनुगमन तथा कारबाहीको लागि आन्तरिक नियन्त्रण प्रणाली तयार गरेको छैन । पर्यटक आगमन पश्चात् आवश्यक सूचना संकलन तथा अन्तर निकाय समन्वय गरी अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्दछ,’ प्रतिवेदनमा महालेखाले भनेको छ ।  





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार ८:१८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया