सर्वोच्च अदालतले अध्यागमनबारे बाइडेनको योजना पुनर्स्थापित गर्न अस्वीकार गर्दै टेक्सास र लुजियानाका पक्षमा फैसला गरेको छ । आपराधिक रेकर्ड भएका कागजपत्रविहीनलाई रिहा गर्न अनुमति दिनेगरी बाइडेन प्रशासनले जारी गरेका अध्यागमनबारेका निर्देशिका रोक्ने अनुमति संघीय न्यायाधीशलाई प्रदान गर्ने आदेश सर्वोच्चले गरेको छ ।
छोटो आदेशमा अदालतले कुनै कारण दिएको छैन । न्यायाधीशहरूले आपतकालीन आवदेनमा निर्णय दिँदा कारण नदिनु सामान्य हो । यद्यपि यस वर्ष मुद्दाको पुनरावेदन र तर्कहरू सुन्ने बताएको छ। सर्वोच्चका ९ न्यायाधीशहरूमध्ये एमी कोनी ब्यारेट र अन्य तीन उदार न्यायाधीशहरू यो निर्णयमा असहमत भए पनि सर्वोच्चमा ५ जनाको बहुमतले यो निर्णय गरेको छ ।
बाइडेनले गतवर्षको सेप्टेम्बरमा जारी गरेका निर्देशिकामा राष्ट्रिय सुरक्षा, सार्वजनिक सुरक्षा र सीमा सुरक्षामा ध्यान केन्द्रित गर्दै कुन आप्रवासीलाई पक्राउ गर्ने र देश निकाला गर्ने भन्ने निर्णय गर्न प्राथमिकताहरु तोकिएको थियो । साथै पक्राउ गरेर हिरासतमा लिन आवश्यक छ वा छैन भन्ने सन्दर्भमा आइसका एजेन्टलाई तजविज अधिकारसमेत दिएको थियो ।
ट्रम्प प्रशासनको व्यापक गिरफ्तारी नीतिहरू उल्टाउने प्रयासका रुपमा बाइडेन प्रशासनले उक्त निर्देशिका जारी गरेको थियो । सर्वोच्चको निर्णयले आइसको सञ्चालन प्रक्रियामा नै आमूल परिवर्तन हुने सम्भावना भने छैन । किनभने आइससँग आपराधिक सजाय भएका सबै आप्रवासीलाई थुन्ने क्षमता भने छैन।
यद्यपि अमेरिकी यो अध्यागमनमा बाइडेन प्रशासनका लागि अर्को झट्का हो । किनभने विगतको ट्रम्पकालीन कडा नीतिहरू परिवर्तन गर्न खोज्दा बाइडेन प्रशासनले कानूनी लडाइको ब्यापक सामना गर्नु परिरहेको छ ।
गत सेप्टेम्बरको निर्देशिका कार्यान्वयन हुनबाट रोक्न टेक्सास र लुजियानाले मुद्दा दायर गरेका थिए । जसमा उनीहरूले आपराधिक रेकर्ड भएका धेरै आप्रवासीहरूलाई स्वतन्त्र रहन अनुमति दिँदा राज्यको न्याय प्रणालीमा बोझ पर्ने तर्क गरेका थिए ।
टेक्सासको संघीय जिल्ला अदालतका न्यायाधीशले देशभर लागू हुने गरी बाइडेन प्रशासनको निर्देशिका प्रयोगमा रोक लगाउने निर्णय गरेका थिए । पछि पाँचौं सर्किट कोर्टले टेक्सासका संघीय न्यायाधीशको निर्णय रोक्न अस्वीकार गरेको थियो ।
बाइडेन प्रशासनले ल्याएको निर्देशिकामा के थियो ?
गत सेप्टेम्बरमा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासले हालैमात्र गैरकानूनी रुपमा सिमा पार गरेका तथा राष्ट्रिय सुरक्षामा खतरा रहेका कागजपत्रविहीनलाई मात्र पक्राउ गर्न आदेश दिएका थिए । यो नियमले सन् २०२० को नोभेम्बर अगाडि अमेरिका आएका कागजपत्रविहीनलाई पक्राउ हुन र देश निकाला हुनबाट संरक्षण प्रदान गरेको थियो ।
गत वर्षको नियमले यो नियमले सन् २०२० को नोभेम्बर अगाडि अमेरिका आएका कागजपत्रविहीनलाई पक्राउ हुन र देशनिकाला हुनबाट संरक्षण प्रदान गरे पनि सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सीमा क्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासी भने अपराध नगरेको भए तापनि देश निकालामा पर्नसक्ने व्यवस्था गरेको थियो ।
अमेरिकाले कागजपत्रविहीन हुँदैमा देश निकाला नगर्ने उक्त नियममा प्रावधान थियो । साथै अध्यागमन अधिकारीले कुनै पनि व्यक्तिलाई कागजपत्रविहीन मात्र भएको आधारमा पक्राउ गरेर हिरासतमा लिन र देश निकाला गर्न नसक्ने प्रावधान थियो । इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीलाई राष्ट्रिय र सार्वजनिक सुरक्षामा खतरा भएकालाई मात्र पक्राउ गर्न र देश निकाला गर्न निर्देशन दिइएको थियो ।
आतंकवाद वा जासूसीमा संलग्न भएको आशंका गरिएका, गम्भिर प्रकारका अपराधमा संलग्न भएका र सन् २०२० को नोभेम्बर १ पछि मेक्सिको सीमा क्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गरेका आप्रवासीलाई पक्राउ र देश निकालाको प्राथमिकतामा राखिने व्यवस्था थियो ।
अमेरिकाको समुदायमा लामो समयदेखि योगदान दिँदै आएका, धार्मिक नेता, कृषि कामदार, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी कागजपत्रविहीनलाई अबदेखि आइसले पक्राउ गर्न र देश निकाला गर्न नपाउने व्यवस्था थियो । नयाँ निर्देशिका गत नोभेम्बर २९ देखि लागू भएको थियो ।
त्यस्तै बेइमान रोजगारदाताले आइसमा सुराकी लगाएको आधारमा कुनै पनि कागजपत्रविहीनलाई पक्राउ नगर्ने व्यवस्था थियो । त्यस्ता रोजगारदाताले आइसलाई सुराकी लगाएका कागजपत्रविहीन व्यक्ति मुख्य अपराधमा संलग्न भएको भएमा भने आइसले उनीलाई पक्राउ गर्न र देश निकाला गर्न सक्ने प्रावधान थियो ।
कागजपत्रविहीनलाई ग्रिनकार्डको बाटोमा लैजान खोजिरहेको अवस्थामा कुनै जोखिम नभएका कागजपत्रविहीनलाई खोज्न र पक्राउ गर्नमा साधनस्रोत नलगाइने मेयर कासले बताएका थिए । अमेरिकामा झण्डै ११ मिलियन कागजपत्रविहीन बस्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।