प्रधानमन्त्री देउवाले भने - निष्पक्ष पत्रकारिता आवश्यक छ

प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता निष्पक्ष भए मात्रै मुलुक र लोकतन्त्र बलियो बनाउने बताएका छन् । शुक्रबारबाट हेटौंडामा सुरु नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निष्पक्ष पत्रकारिताका लागि आग्रह गरे । 

अपवाह फैलाउने समाचार लेख्ने क्रम बढेको बताउँदै उनले भने, ‘त्यसलाई कमजोर बनाउने निष्पक्ष पत्रकारिता अति नै आवश्यक छ ।’ उनले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि भएको विभिन्न चरणको संघर्षमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राजनीतिक स्थायित्वको विषयमा पत्रकारले सदैव कलम चलाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताए । ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइ दिनुहुन अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।

नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रूपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुई हजार जना हेटौंडामा भेला भएका छन् । भेलाले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ । महाधिवेशनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्व हेटौंडामा आएका छन् । 





  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार १४:२७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया