सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने चेतावनी दिएका छन् ।
आगामी मंसिर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अव भने गठबन्धनको डम्फु मात्रै बजाएर बस्न नसकिने बताएका हुन् ।
पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको डम्फु बजाउने काम छोडेर पार्टीको संगठन सुदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष नेपालले भने, ‘सम्भवत मंसिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अब कति दिन कति हामीले गठबन्धनको डम्फु बजाएर बस्ने ? अव डम्फु बजाउने होइन । अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो ।'
स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलले आफूहरूलाई सहयोग नगरेको अध्यक्ष नेपालको भनाइ थियो । उनले आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबीसमेत गरे ।
स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दावी गरे ।
उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले आगामी निर्वाचनमा कम्तीमा १२ सिट जित्ने उल्लेख गरे । 'अहिले हाम्रो प्रतिनिधिसभामा समानुपातिकसहित २४ सिट छ । १२ जना प्रत्यक्षबाट निर्वाचित छौं हामी प्रतिनिधिसभामा । त्यसलाई त घटाउन सक्दैन कसैले पनि । त्यो हुनाले अरु पार्टीभन्दा हाम्रो हैसियत कमजोर हुने होइन नि’ उनले भने ।
अध्यक्ष नेपालले छोटो समयमै आफ्नो पार्टीले सुदृढ भएर नयाँ कीर्तिमान कायम गरेको जिकिरसमेत गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।