प्रकाशमानको प्रश्न : राणा शासन पञ्चायत ढाल्नेलाई त काम गर्न गाह्रो छ, एकजना स्वतन्त्रलाई जिताएर के हुन्छ ?

कांग्रेस नेता प्रकाशमान सिंहले स्थापित पार्टीहरूलाई समेत काम गर्न गाह्रो भइरहेको बेला स्वतन्त्र उम्मेदवारलाई जिताएर केही नहुने तर्क गरेका छन् । चुनावको मुखमा जनतामाझ आउने, तर अरुबेला देखा नपर्नेहरूलाई जिताएर जनतालाई केही प्राप्त नहुने उनको भनाइ छ । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले स्वतन्त्र र नयाँ नेताहरू चुनावको मुखमा मात्रै जनतामा देखा पर्ने भन्दै उनीहरुबाट केही प्राप्त नहुने बताएका हुन् । उनले प्रश्न गरे, ‘गत निर्वाचनमा जनतामा प्रतिस्पर्धी बनेका व्यक्तिहरू यसबीचमा कतिपटक जनतामा आएका छन् ?’

०७४ को प्रतिनिधिसभा निर्वाचनका निकटतम प्रतिद्वन्द्वी रवीन्द्र मिश्रप्रति लक्षित गर्दै उनले भने, ‘गएको निर्वाचनमा नयाँ पार्टीको मान्छे परिवर्तन गर्छु भनेर आयो । जो उम्मेदवार भएर आयो, त्यो उम्मेदवारले यो निर्वाचन क्षेत्रमा के गर्यो त ? त्यत्रो कोभिड हुँदा, अरु आपत पर्दा, कसैलाई समस्या हुँदा कहीँ कतै देखापर्यो ?’ 

चुनावको समयमा, सामाजिक सञ्जालमा मात्रै आउनेहरूको भाषणमा पर्न नहुने सिंहको आग्रह थियो । ‘हाम्रो स्वभाव कस्तो हुन्छ भने जादु, चटक देखाउनेले चटक देखाउँदा अचम्म पर्छौं,’ उनले भने, ‘कुनै आन्दोलनमा सहभागी नभएका, जागिर खानसम्म खाएर पैसा कमाउनसम्म कमाएर स्वतन्त्रको हावा बगिरहेको छ, हामी पनि पसौँ भन्ने छन् ।’

परिवर्तन गर्छु भनेर बोल्दैमा परिवर्तन नहुने उल्लेख गर्दै उनले भने, ‘पुरानोलाई त गर्न गाह्रो छ, नयाँले के गर्छ ? राणा शासन, पञ्चायत ढाल्नेलाई त काम गर्न गाह्रो छ । एकजना स्वतन्त्रलाई जिताएर पठाउँदा के हुने हो ?’ 





  • प्रकाशित मिति : साउन ७, २०७९ शनिबार १८:४१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया