संसदमा नागरिकता विधेयक पारित भएकोमा एनआरएनएले गर्‍यो स्वागत

प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो विधेयकलाई पारित गरेको थियो । 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए । संघको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली संघले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको पनि उनले स्मरण गरे । 

अध्यक्ष आचार्यले प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्न योगदान दिने सम्पूर्ण सांसद, राजनीतिक दलका नेता, कानुनविद्, सञ्चारमाध्यमलगायत संघका सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि दिए । 

यसैगरी सङ्घका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरिन् । ‘हामी गैरआवासीय नेपाली (एनआरएन) हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपालीहरू एक भई जन्मभूमिका लागि जुट्ने छौँ,’ उनले भनिन् ।  

सङ्घका उपाध्यक्ष डा. हेमराज शर्माले यो विधेयकले गैरआवासीय नेपाली नागरिकले पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख नगरेको बताए । 

‘यी अधिकारको परिभाषा अर्को विधेयक (गैरआवासीय नेपालीसम्बन्धी विधेयक) मा आउने छ । दोहोरो नागरिकताको प्रावधान नभएका देशमा बस्ने नेपालीहरूलाई ‘गैरआवासीय नेपाली परिचयपत्र’को व्यवस्था हुनेछ । त्यसैले गैरआवासीय संघले परिचयपत्र र नागरिकता पाउने व्यक्तिहरूको समान अधिकार दिलाउनका लागि लबिङ गर्नुपर्ने देखिन्छ,’ उनले भने ।   





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार ७:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया