कैलालीको धनगढीमा तीन दिनसम्म धामी–झाँक्री सम्मेलन भएको छ । उक्त सम्मेलन शनिबार सम्पन्न भएको छ । मर्यादित महिनावारीका लागि सञ्चालित धामी–झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
सम्मेलनमा सहभागी धामी–झाँक्रीले महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्त्वपूर्ण हुने बताउँदै महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरी उचित सम्मान प्रकट गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
घोषणापत्रमा घरपरिवारमा मर्यादित महिनावारी मैत्री बनाउन किशोरी, महिलालाई महिनावारी भएका पाँच दिन र अन्य २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिमा आत्मविश्वास बढाउनका लागि मर्यादित महिनावारीका बारेमा सूचित गर्ने, महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताका लागि सकारात्मक सहयोग गर्ने, महिनावारी भएको समयमा पनि किशोरीलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।
सम्मेलनमा सुदूरपश्चिमको बाजुरा, डोटी, कैलाली, अछाम र कर्णाली प्रदेशको मुगु जिल्लाका धामी झाँक्री तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।