भीम रावलको प्रश्‍न : सभामुखको निर्देशन पनि नसुन्ने, सरकारले कहिलेदेखि श्रवणशक्ति गुमायो ?
फाइल तस्वीर

नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताए । उनले पत्र पठाए, नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको बताए । 

सभामुख र संसदीय समितिको निर्देशन सरकारले नसुनेको भन्दै उनले सरकारले श्रवण शक्ति गुमाएको टिप्पणी गरे । उनले सरकारको श्रवणशक्ति गुमेकाले कानको उपचार आवश्यक भएको र जनताले चुनावमा कानको उपचार गर्ने विश्वास व्यक्त गरे । 

उनले भने – ‘एसपीपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनको लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो । एक महिना भयो सरकारले गरेको निर्णय । सभामुखले दिएको निर्देशन पनि नसुन्ने । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कुरा पनि नसुन्ने । रोष्टमबाट बोल्दा अलिकति सुन्छ कि भनेको, कानको उपचार त राम्ररी गर्नुपर्ने । नेपाली जनताले चुनावमा गर्छन् कि हेरौँ ।’ 

उनले बेलायतमा रहेका भुतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए । विगत लामो समयदेखि भुतपूर्व गोर्खा सैनिक भर्ती सन्धि असमान र अपमानजनक रहेको भन्दै खारेजीको मागसहित आन्दोलित भएको भन्दै सो विषय नेपालको स्वाधिनता, स्वाभिमान र हीतसँग गाँसिएको विषय भएको बताए । सरोकारवालासँग छलफल गरी समस्या समाधानमा सरकारले पहलकदमी लिनुपर्ने उनको भनाइ छ । 

सांसद रावलले यस सम्बन्धमा सरकारले हालसम्म गरेका काम, कारबाही संसदलाई जानकारी गराउन पनि माग गरे ।





  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १५:२८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया