प्रधानमन्त्रीलाई नेपालको दबाब : अमेरिकालाई एसपीपीमा सहभागी नहुने चिठी तुरुन्तै पठाउनुहोस्
फाइल तस्वीर

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

क्याबिनेटले एसपीपीमा सहभागी नहुने भनेर गरिएको निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई तत्काल कार्यान्वयन गर्न अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री देउवालाई पुनः दवाव दिएका हुन् । 

आइतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले केही दिन अघि मात्रै आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेरै एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरिएको पनि बताए । 

अध्यक्ष नेपालले सोसम्बन्धी पत्राचार छिटो अमेरिकालाई पठाउन सरकारलाई दवाव दिन पनि आम नेपाली जनतालाई आह्वान गरे । मुलुकको राष्ट्रियताको रक्षाका लागि नेपाली जनताको जगकता सबैभन्दा बढी जरुरी हुने अध्यक्ष नेपालको भनाइ थियो । 

उनले भने, ‘अहिले फेरि अलमलका कुरा आइरहेका छन । अस्ति भर्खर मात्रै म र प्रचण्ड हामी दुइटैले भन्यौं प्रधानमन्त्री शेरबहादुर देउवालाई । तुरुन्तै त्यो चिठी पठाउनुहोस् । ढिलोढाला नहोस् । यस सम्बन्धमा जनताको तहबाट पनि आवाज उठनुपर्दछ । जनता सजग हुनुपर्दछ । किनभने नेपालको राष्ट्रियताको रक्षा गर्ने भनेको नेपाली जनताले हो ।’

अध्यक्ष नेपालले एमसीसीमा व्याख्यात्मक टिप्पणी पनि रहेकाले सो सम्झौंताले मुलुकको अहित नगर्ने तर्कसमेत गरे । उनले एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै आपत्तिसमेत जनाए । 



अध्यक्ष नेपालले मुलुकको परराष्ट्र नीतिमा राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको पनि औंल्याए । नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न खोज्छ भने त्यो नेपाली जनतालाई सैह्य नहुने चेतावनी दिँदै उनले मुलुकको परराष्ट्र नीतिको मामिलामा दलहरुबीच राष्ट्रिय सहमती हुनुपर्ने आवश्यक्ता रहेको बताए । 

अध्यक्ष नेपालले आफू परराष्ट्रमन्त्री र प्रधानमन्त्री भएको बेलामा परराष्ट्र नीति र नेपालको राष्ट्रिय सुरक्षा नीतिको दस्तावेज तयार पारे पनि त्यसमा राष्ट्रिय सहमती जुटाउने काम हुन नसकेको बताए । उनले नेपालले सन्तुलित भएर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने दोहोर्‍याए ।



  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १५:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया