नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका दलबीच प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको चयन एक–डेढ महिनाअघि नै टुंगो लगाउने दाबी गरेका छन् ।
आइतबार महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
स्थानीय तहको चुनावका बेला हतारमा टिकट वितरण गरिएकाले गठबन्धनलाई धेरै ठाउँमा क्षति पुगेको चर्चा गर्दै उपसभापति खड्काले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको चयन बेलैमा गर्ने बताएका हुन् ।
स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘टिकटका आकांक्षी धेरै हुन्छन् र हतारमा टिकट वितरण गर्दा अर्को बिडम्बना आइपर्छ। तसर्थ प्रदेश र प्रतिनिधिसभाको चुनावको मिति पनि केही दिनमै टुंगो लाग्छ ।’
अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले वर्षौंदेखि रोकिएको नागरिकता समस्या नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले समाधान गरेको बताए ।
नेपाली कांग्रेस अनुशासन समितिका संयोजक आनन्द ढुंगाना विनाअनुशासनको राजनीति अगाडि बढ्न नसक्ने उल्लेख गर्दै भने, ‘समाज र राष्ट्रले असल मानिसलाई सम्झने हुँदा राजनीतिमा अनुशासन र विचार धेरै महत्वपूर्ण छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।