एक मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर गएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई पक्राउ गर्न माग गरेको छ । दक्षिण एसियाली देश श्रीलंकाको लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना (आईटीजेपी) ले माग गरेको हो ।
श्रीलंकामा राजापाक्षेको शासन कालमा भएका मानव अधिकार दुरुपयोग र दुर्व्यवहारबारे दस्तावेजसमेत तयार पारेको आईटीजेपीले सिंगापुरका महान्यायाधिवक्ताको कार्यलयमा राजापाक्षेविरुद्ध आपराधिक उजुरी दायर गरेको हो । सन् २००९ मा गृहयुद्धको समयमा राजापाक्षेले देशको रक्षा प्रमुख हुँदा जेनेभा महासन्धिको गम्भीर उल्लंघन गरेको उक्त समूहले आरोप लगाएको छ ।
गत जुलाई १३ मा देश छोडेर भागेको एक दिनपछि राजापाक्षेले सिंगापुरबाटै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसअघि सरकार विरोधी प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय र सरकारी निवासमा प्रवेश गरेका थिए ।
प्रदर्शनकारी प्रवेश गर्नुअघि राजपाक्षे सेनाको सहयोगमा गोप्य स्थानमा लुकेका थिए । लगत्तै उनी माल्दिभ्स पुगेका थिए । माल्दिभ्सबाट उनी सिंगापुर भागेका थिए । सिंगापुरबाटै उनले राजीनामा दिएका थिए ।
उनको राजीनामापछि श्रीलंकामा नयाँ राष्ट्रपति र प्रधानमन्त्री चयन भइसकेका छन् । राष्ट्रपति विक्रमासिंघेले प्रदर्शनकारीविरुद्ध कठोर नीति अंगिकार गरेको विश्लेषण हुन थालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।