एसपिपी अस्वीकार पत्र : प्रचण्ड–नेपाल दबाब दिन्छन्, देउवा मान्दैनन्

अमेरिकी  सहयोग स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी) अस्वीकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो गठबन्धनको बैठकमा पनि सोबारे प्रश्न उठाउँदै तत्काल अस्वीकार गर्ने पत्र पठाउन अनुरोध गरे पनि प्रधानमन्त्री देउवाले भने कार्यान्वयन नगरेर वेवास्ता गरेका हुन् । 

‘केही दिनअघि पनि प्रचण्डजी र मैले प्रधानमन्त्रीलाई भेटेर एसपिपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाउन पुनस् अनुरोध गरेका थियौँ । तर, उहाँले अझै पत्र पठाउनु भएको छैन,’ अध्यक्ष नेपालले भने, ‘यो पत्र तत्काल पठाएर नेपाल असंलग्न परराष्ट्र नीतिको अडानमा रहनुपर्छ, कुनै सैन्य गठबन्धनमा रहनु हुन्न ।’ 

‘विश्वको भू–राजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा आफनो अनुरोध प्रधानमन्त्री देउवाले अझै कार्यान्वय नगरेको गुनासो पोखेका नेपालले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै अमेरिकालाई तत्काल पत्र पठाउन पुन: माग गरेका छन् ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपिपीलाई अस्विकार गर्ने निर्णय गरेको थियो । अमेरिकी सैन्य गठबन्धनको एक अंग भएको भन्दै तीव्र आलोचना भएपछि सरकारले मन्त्री परिषद् बैठकमार्फत सो सहमति नगर्ने निर्णय लिएको थियो । तर, सो निर्णय भएको एक महिना बितिसक्दा पनि देउवा सरकारले अमेरिकालाई सो सम्बन्धी पत्राचार नगरेपछि प्रचण्ड–नेपालले गठबन्धनको बैठकमा पनि सो प्रश्न उठाएका थिए ।

उता, एसपिपी अस्वीकार गर्ने मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयन नभएपछि माओवादी केन्द्रले ५ साउनको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ नै गर्नुपर्ने मागसमेत गरेको थियो ।





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार ११:३६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया