पछिल्लो समय प्रदेश १ को प्रदेशसभा बैठकमा चर्चा कमाउनका लागि सांसदहरू ‘स्टन्टबाजी’ मा उत्रन थालेका छन् । सस्तो लोकप्रियता र सञ्चारमाध्यममा चर्चा कमाउन कै लागि प्रदेशसभाको बैठकमा सांसदहरू ‘स्टन्टबाजी’ मा उत्रन थालेका हुन् ।
सोमबार पनि प्रदेशसभा बैठकमा फरक दृश्य देखियो । प्रदेश १ को प्रदेशसभा बैठकमा एक सांसदले किराँतीहरूको ‘मुन्धुम’ गाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा माओवादी केन्द्रका सांसद पूर्ण प्रसाद राई (याम्फु) ले ‘मुन्धुम’ गाएका हुन् ।
प्रदेशसभा बैठकको शून्य समयमा समय लिएर सांसद याम्फुले ‘मुन्धुम’ गाएका थिए । ‘मुन्धुम’ गाएर ऐतिहासिक तथ्यका आधारमा प्रदेशको नाम किराँत प्रदेश राखिनु पर्ने बताउन लागेका उनले सभामुखले दिएको समय ‘मुन्धुम’ गाउनै खर्किएपछि आफ्ना कुरा राख्न पाएनन् ।
‘६ दाजुभाइ किराँतीहरू बराह क्षेत्र वारपार बसे र तीन दाजुभाइ पूर्व तराईतिर लागे । अरू तीनलाई उभो हुँदै खोला किनारतिर लागे ।’ मुन्धुम गाइसकेर यति भनेका सांसद याम्फु समय सकिएपछि धन्यवाद भनेर बिदा भए ।
यस्तै आइतबारको बैठकमा एमाले सांसद सर्वध्वज सांवाले ‘गुहार’ मागेको पनि चर्चाको विषय बन्यो । उनले प्रदेश नामकरणको विषयमा आफूहरू पार्टी र जनताको दोहोरो घेराबन्दीमा परेको गुनासो गर्दै बैठकमा गुहार मागेका थिए । ‘हामीलाई बलिको बोका बनाउन खोजियो । ‘गुहार’, ‘गुहार’, ‘गुहार’ । हामी खतरामा छौँ, हामीलाई बचाउनुस् ।’ उनले बैठकमा भनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।