बैतडीको सुर्नया गाउँपालिका–७ मा रहेको केदार माध्यमिक विद्यालयको भवन स्थानीयले बाख्रा बाँध्ने खोरको रूपमा प्रयोग गरेका छन् । स्थानीय गणेश साउदले विद्यालयको भवनमा करिब १ दर्जन बाख्रा बाँध्नुका साथै घाँस दाउरा राख्ने गरेका छन् । साउदले विद्यालयको नाममा रहेको उक्त जमिन आफ्नो रहेको दाबी गर्दै विगत चार महिनादेखि बाख्रा बाँध्ने गरेको पाइएको हो ।
गत वर्ष नापी कार्यालयबाट प्राविधिक टोली बोलाएर नाप जाँच गर्ने क्रममा उक्त भवनको जमिन विद्यालयको नाममा रहेको भेटिएको विद्यालयका प्रधानाध्यापक उत्तरबहादुर कुँवरले बताए । विद्यालयको जमिनमा रहेको संरचना विद्यालयले नै प्रयोग गर्न पाउनुपर्ने उनको भनाइ छ ।
तर, स्थानीय गणेश साउद जमिन आफ्नो रहेको दाबी गर्छन् । २०५२ सालमा शिखरपुर स्वास्थ्य चौकीको लागि उक्त भवन निर्माण गरिएकोमा थप संरचना निर्माणका लागि जमिन पर्याप्त नभएकाले अर्को ठाउँमा सारिएको थियो ।
स्वास्थ्य चौकी अर्को ठाउँ सार्ने क्रममा विद्यालयले स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ दिएको विद्यालयका लेखापाल कमल साउदले बताए । उक्त भवनलाई विद्यालयले दिवा खाजा पकाउने क्यान्टिनको रूपमा प्रयोग गर्दै आएको थियो ।
तर, गणेश साउदले भने स्वास्थ्य चौकीलाई आफूले दान गरेको जमिनमा आफ्नो मात्रै हक हुने बताउँछन् । उनले भने, ‘२०५२ सालमा स्वास्थ्य चौकीलाई दान गरेको हुँ, स्वास्थ्य चौकी सरेपछि उक्त जमिन र संरचना मेरै हुन्छ ।’
नापीको टोली बोलाएर नाप जाँच गरेको विषयमा आफू जानकार नरहेको उनी बताउँछन् । गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरसहितको टोली छलफलमा बसे पनि स्थानीय गणेशबहादुर साउदले आफूले उक्त संरचना नछोड्ने अडान राखेपछि विवाद समाधान हुन सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।