गठबन्धन चुनावसम्मै रहन्छ, तर कांग्रेसले उब्रेको ठाउँ मात्रै दिए टुलुटुलु हेरेर बस्दैनौँ : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने बताएका छन् । पोखरामा पुष्पलाल स्मृतिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा आबद्ध सबै दल आगामी निर्वाचनसम्म निरन्तरता दिन तयार रहेको बताए ।

‘विगतका कुरालाई सुधार गरेर आगामी दिनमा नदोहोरिने गरी लाग्छौँ । आगामी दिनमा नदोहोरियोस् भनेर माओवादीका नेताले भनिरहनुभएको छ । कसैले अन्य ढंगले कुरा गरिरहेका छन्,’ उनले भने, ‘नेपाली कांग्रेसले कतिको महसुस गर्छ, हेर्न बाँकी छ । गठबन्धन टुट्नेवाला छैन । आउने चुनावसम्म गठबन्धन कायम रहन्छ । यसको निम्ति आफ्नो तर्फबाट बहस गर्नुपर्छ ।’

उनले राम्रो ठाउँमा आफैँ लिएर उब्रेको ठाउँमा मात्रै दिने सोच कुनै पार्टीले गरे टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । ‘सबै सिट आफैँ लिउँला उब्रेको मात्रै दिउँला भनेर कुनै पार्टीले सोच्छ भने हामी टुलुटुलु हेरेर बस्नेवाला छैनौँ,’ उनले भने, ‘आफ्नो शक्तिमा अडिएर अगाडि बढ्छौँ । शक्ति बनाउने कुरामा आवश्यक समयमा भ्रम चिर्नुपर्छ ।’

नेपालले पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी दक्षिणपन्थी रूपमा भासिएपछि विद्रोह गरेको सम्झँदै आफूले पनि अप्ठेरो परेपछि विद्रोह गरेको बताए । ‘हामीले ०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले निकै राम्रो स्थान हासिल गरेको थियो । त्यसपछि दुईतिहाइ बहुमत पाएको थियो । यसलाई उपयोग गरेको भए कम्युनिस्ट पार्टी अत्यन्तै लोकप्रिय हुने थियो,’ उनी भन्छन्, ‘अहिलेको स्थानीय निर्वाचनमा धेरै सिट जितेको हुन्थ्यो । तर, त्यो सबै बिगारेको एमाले नेता केपी ओलीले हो ।’

ओलीले पार्टीमा छलफल बन्द गरेपछि विद्रोह गरेर नयाँ गठबन्धन बनाएको उनको भनाइ छ । ‘जब पार्टीमा छलफल बन्द गर्नुभयो, आफूलाई केन्द्रविन्दुमा राख्नुभयो, म नै पार्टी हुँ भन्ने सोचेपछि अहंकार बढेपछि अस्तित्व रक्षाका लागि एमसिसी ल्याउनुभयो,’ उनले भने, ‘भारतलाई खुसी पार्न नेपालको छापिएको नक्सा रोक्नुभयो । नेपाललाई भारतसहितका विभिन्न देशहरूको संयुक्त सैन्य अभ्यासमा सहभागी गराउन भूमिका खेल्नुभयो ।’ 

त्यसका विरुद्ध आफूहरुले जुध्नुपरेपछि आलीलाई चित्त नबुझेर संसद नै भंग गरेको उनले बताए । ‘त्यसपछि हामी सडकमा उत्रिनुपर्यो, आवाज उठाउनुपर्यो । माहोल हाम्रो पक्षमा आयो । एकताबद्ध भएको पार्टीलाई सर्वोच्चको आदेशमा अलग–अलग बनायो,’ उनले थपे, ‘संविधान जोगाउन, प्रतिगमन रोक्न र संघीयताको खतरा रोक्नका लागि विद्रोह गर्नुपर्यो । ५ दलीय गठबन्धन बनाउनुपर्यो ।’





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार २०:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया