कर्णालीमा सडक दुर्घटनाको उच्च जोखिम, बर्सेनि गुमाउँछन् सयौँले ज्यान

 सडक सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेश उच्च जोखिम मै पर्दछ । यहाँ वर्षेनी सयौँको संख्यामा सडक दुर्घटनाहरु घट्ने गर्छन् । र, सडक दुर्घटनामा बर्सेनि सयौँले ज्यान गुमाउँछन् । 

कर्णालीमा तीन वर्षको अवधिमा सडक दुर्घटनामा तीन सय ९२ जनाले ज्यान गुमाएका छन् । २०७६/०७७ मा ९७ जना, २०७७/०७८ मा ९८ जना र २०७८/०७९ मा एक सय ९७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

यसैगरी विगत तीन आर्थिक वर्षमा सडक दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुको संख्या सात सय १० जना रहेको छ । २०७६/०७७ मा एक सय ७९ जना, २०७७/०७८ मा एक सय ६९ जना र २०७८/०७९ मा तीन सय ६२ जना सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । यसका साथै २०७६/०७७ मा दुई सय ९३ जना, २०७७/०७८ मा तीन सय १९ जना र २०७८/०७९ मा पाँच सय ८८ जना सडक दुर्घटनामा परी सामान्य घाइते भएको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए ।

आव २०७८/०७९ मा कर्णालीमा कुल चार सय दुईवटा सवारी दुर्घटनाका घटना घटे । अघिल्ला आर्थिक वर्षको तुलनामा यो संख्या ४३ प्रतिशतले बढी हो । २०७६/०७७ मा कर्णालीमा दुई सय ३६ वटा सवारी दुर्घटना भएका थिए । २०७७/०७८ मा दुई सय ९१ वटा सवारी दुर्घटना घटेको कर्णालीको प्रादेशिक ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । २०७६/०७७ र २०७७/०७८ मा कोभिड–१९ रोकथामका लागि ‘लकडाउन’ भएकाले पनि सवारी दुर्घटना संख्यामा कमी देखिएको ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।

कर्णालीमा भएका सडक दुर्घटनामा तुलनात्मक रुपमा साना सवारीसाधनको संलग्नता धेरै देखिन्छ । जिप–कार तथा मोटरसाइकल दुर्घटनामा पर्नेको संख्या धेरै नै छ । आव २०७८/०७९ मा कर्णालीमा भएका सवारी दुर्घटनामा कुल चार सय ८१ सवारी साधन संलग्न रहेका छन् । यसमा सबैभन्दा धेरै मोटरसाइकलको संख्या छ । दुर्घटनामा कुल दुई सय १० मोटरसाइकल संलग्न रहेको प्रदेशको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । यसैगरी दुर्घटनामा ७७ वटा जिप–कारको संलग्नता रहेको ट्राफिक कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३१ वटा ट्रक, ६ वटा टिप्पर, ३२ वटा बस, १७ वटा माईक्रो फोर्स, ६१ वटा ट्रयाक्टर, ३६ वटा अटोलगायत अन्य ९ वटा सवारी दुर्घटनामा संलग्न रहेको ट्राफिक प्रहरीले बताएको छ ।



कर्णालीमा सडक दुर्घटनाको मुख्य कारण सवारी साधनको तीव्र गति रहेको ट्राफिक प्रहरी कार्यालयको धारणा छ । यसका साथै यान्त्रिक कारणले कर्णालीमा सडक दुर्घटना बढाएको प्रदेश ट्राफिक प्रमुख तिवारीको भनाइ छ ।

तथ्यांकगत रुपमा हेर्दा कर्णालीमा घटेका सडक दुर्घटना मध्य तीव्र गतिकै कारण गत आर्थिक वर्ष मात्रै दुई सय ४८ सडक दुर्घटना भएका छन् । यसैगरी २०७६/०७७ मा एक सय ३२, २०७७/०७८ मा एक सय ५९ वटा सडक दुर्घटनाको मुख्य कारण तीब्र गति रहेको ट्राफिक प्रहरी उपरिक्षक तिवारी बताउँछन् ।



सडक दुर्घटनाको दोस्रो कारकतत्वका रुपमा रहेको यान्त्रिक कारणले अघिल्लो आर्थिक वर्षमा मात्रै ८६ सडक दुर्घटना घटेका छन् । यस विषयमा सवारी साधनको अवस्थाले महत्वपुर्ण भुमिका राख्दछ । २०७६/०७७ मा ४९ र २०७७/०७८ मा ६४ वटा सडक दुर्घटना सवारीको अवस्थाका कारण घटेको तथ्यांकले जनाउछ । सडकको अवस्थाका कारण पनि सडक दुर्घटना हुनेको संख्या अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा १७ वटा रहेको छ । २०७६/०७७ मा १२ र २०७७/०७८ मा १८ वटा सडक दुर्घटना सडकको अवस्थाका कारण रहेको ट्राफिक प्रहरीको विश्लेषण छ ।

प्रदेशको राजधानीसमेत रहेकाले सुर्खेतमा सवारी चाप बढ्दो अवस्थामा नै छ । सोही रुपमा हेर्दा समेत सुर्खेतमा सवारी दुर्घटनाको संख्या धेरै देखिनु नौलो पनि होइन । अघिल्लो आर्थिक वर्षमा मात्र सुर्खेतमा कुल एक सय ८७ सडक दुर्घटना भएका छन् । प्रदेशभरको दुर्घटनाको तुलनामा यो संख्या ४६ प्रतिशत हो ।

यसैगरी, सल्यानमा ५५, दैलेखमा ४४, रुकुम पश्चिममा ३५, जाजरकोटमा २५, जुम्लामा २३, कालिकोटमा १७, मुगुमा सात, डोल्पामा ६ र हुम्लामा तीन वटा सडक दुर्घटना घटेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

तालिकाः आव २०७८/०७९को सवारी दुर्घटना तथ्यांक । (स्रोतः कर्णाली प्रदेश ट्राफिक प्रहरीको कार्यालय)

कर्णालीमा सडक सुरक्षाका पूर्वाधार निर्माणमा खास ध्यान नदिइएको नेपाल अटोमोबाइल एसोसिएसन (स्पोर्टस्–नासा), कर्णालीका अध्यक्ष रुपेश भण्डारीको आरोप छ । उनले भने, ‘सडक सुरक्षाका दृष्टिकोणमा हामीले निर्माण गरिरहेका सडकमा कमजोरी यथावतै छन् । यसप्रति हामीले ध्यान दिएका छैनौँ । बाटोमा सवारीसाधन तथा पैदल यात्रीलाई नियममा बाँध्न ट्राफिक नियमका पूर्वाधारहरुको आवश्यकता पर्छ । ठूलो सडक बनाउँदैमा सडक दुर्घटना जोखिम न्यूनीकरण हुन्छ भन्ने छैन ।’

सडक निर्माणसँगै सुरक्षित सडक पूर्वाधारको समेत निर्माण गरिनुपर्ने बताउँदै अध्यक्ष भण्डारीले भने, ‘सुरक्षित सडकका लागि सडक सुरक्षा मापदण्ड पुर्याएको सडक बनाइनुपर्छ । पैदलयात्रीलाई फुटपाथको स्थान, लेन, जेब्रा क्रसिङ तथा ट्रफिक लाइट, सडक अवस्थाका सूचना बोकेका जानकारी, दुर्घटना क्षति न्यूनीकरणका लागि पूर्वाधार निर्माणलगायत पक्षले सडक दुर्घटना न्यूनीकरण गर्नमा सघाउन सक्छन् ।’

सवारी चाप, भौगोलिक अवस्था, कार्ययोजनाको प्रभावकारी कार्यान्वयन अभाव तथा सडक सुरक्षा चेतनाको कमीका कारण कर्णालीमा सवारी दुर्घटनाको संख्या बढ्दो अवस्थामा रहेको कर्णाली ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिवारी बताउँछन् ।

उनले भने, ‘कर्णालीमा सवारी दुर्घटनाको कारण मानिसको ज्यान जाने, अंगभंग हुने तथा दीर्घकालीन अपांगता हुने दर दिनानुदिन बढ्दै गएको देखिएको छ । यसबाट राज्यलाई पनि सवारी दुर्घटनाको कारण उपचार, अनुसन्धान, बिमा, क्षतिपूर्तिलगायत विभिन्न आर्थिक पक्षमा र अनुत्पादक दायित्वमा वृद्धि भएको छ ।’

कर्णालीलाई सडक सुरक्षाको दृष्टिकोणले सुरक्षित क्षेत्रका रुपमा विकास गर्न प्रदेश, जिल्ला र पालिकास्तरीय सडक सुरक्षा सम्मेलनको आवश्यकता रहेको प्रहरी उपरीक्षक तिवारी बताउँछन् । यस सम्मेलनमार्फत सरोकारवाला निकायलाई प्रतिबद्ध गराउँदै कार्ययोजना निर्माण गरी समन्वय, सहकार्य गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन सके कर्णाली प्रदेशमा हुने सडक दुर्घटनाबाट भएको क्षतिमा कमी ल्याउन सकिने उनको सुझाब छ ।

उनले भने, ‘कर्णालीका सबै जिल्लामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी जिल्ला सम्मेलन सम्पन्न गरी प्रतिबद्धता पत्र एवं सोसम्बन्धी कार्ययोजना तयार पारी प्रत्येक महिना प्रगति समीक्षा बैठक बस्ने व्यवस्था मिलाइएको छ । सडक सुरक्षासम्बन्धी कर्णाली प्रदेश सम्मेलन र ७९ वटै पालिकामा सम्मेलनकाा लागि प्रतिबद्धता पत्र र कार्ययोजना तयारसमेत गरिरहेका छौँ ।’ 

  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार २२:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया