सञ्चारमाध्यमलाई समय सुहाउँदो रूपमा परिमार्जित गर्दै लैजानुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमलाई समय सुहाउँदो रूपमा परिमार्जित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले विश्वमा सूचना तथा प्रविधिको द्रुत गतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताए । उनले सत्यतथ्य सूचना प्रशारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने बताए । 

उनले नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको पनि उल्लेख गरे । प्रधानमन्त्री देउवाले नागरिक शिक्षित र सुसूचित भए मात्रै सरकार जिम्मेवार बन्नसक्ने बताए । उनले नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमले सत्यतथ्य सूचना प्रशारण गर्न जरुरी रहेको उल्लेख गरे । 

‘विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासका सन्दर्भमा हामीले पनि हाम्रा सञ्चारमाध्यमहरूलाई समय सुहाउँदो रूपमा थप परिमार्जित गर्दै लैजानुपर्नेछ । जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुन्छ । नागरिकको सूचनाको हकलाई निश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक छ,’ देउवाले भने, ‘नागरिक जति सुसूचित हुन्छन् सरकार त्यति नै जवाफदेही बन्न बाध्य हुन्छ । अतः नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरूले सत्यतथ्य सूचना प्रशारण गर्न जरुरी छ । तथ्यहीन, भ्रामक समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरूमा भ्रामकता सिर्जना हुन्छ । त्यसले पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार गर्दछ ।’ 
 
प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने जिकिर गरे ।  





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ११:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया