इंल्याण्डमा जारी महिला युरोकपको दोस्रो तथा अन्तिम सेमिफाइनलमा आज जर्मनीले फ्रान्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे एमके रंगशालामा सुरु हुनेछ ।
जर्मनी महिला युरोकपको सबैभन्दा सफल टोली हो । फ्रान्स प्रतियोगिताका लागि केही हदसम्म नयाँ जस्तै छ । नयाँ यस अर्थमा ऊ पहिलोपटक युरोकपको सेमिफाइनल खेल्दैछ । सन् १९८४ बाट सुरु भएको महिला युरोकपको हालसम्म १२ संस्करण समाप्त हुँदा जर्मनीले मात्र आठ उपाधि हात पारेको छ ।
यसक्रममा ऊ १९९५ देखि २०१३ सम्म लगातार ६ पटक विजेताका बनेको थियो । यसबाट पनि थाहा हुन्छ जर्मन कति बलियो टोली हो । गत संस्करण क्वार्टरफाइनलबाटै बाहिरिएको जर्मनीको लक्ष्य यो संस्करणको फाइनल पुग्नु मात्र नभएर नवौं उपाधि उचाल्ने हुनेछ । त्यसका लागि उ आज फ्रान्सको चुनाैती पन्छाउने प्रयासमा छ ।
जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिहेको जर्मनीले हालसम्मका चार खेलमा ११ गोल गर्दा एक गोल पनि खाएको छैन । उसले समूह चरणमा डेनमार्कलाई ४–०, स्पेनलाई २–० र फिनल्याण्डलाई ३–० ले पराजित गर्दा क्वार्टरफाइनलमा अस्ट्रियामाथि २–० को जित निकालेको थियो ।
फ्रान्ससमक्ष नयाँ इतिहास बनाउने अवसर छ । ऊ जर्मनीलाई पन्छाउँदै पहिलोपटक युरो फाइनल पुग्ने लक्ष्यमा हुनेछ । तर, बलियो टोलीविरुद्ध जित निकाल्न त्यति सहज भने हुनेछैन ।
प्रतियोगितामा मध्यम प्रदर्शन गरिरहेको फ्रान्सले हालसम्म चार खेलमा नौ गोल गर्दा तीन गोल खाएको छ । उसले समूह चरणमा इटालीलाई ५–१, बेल्जियमलाई २–१ ले पराजित गर्दा आइसल्याण्डसँग १–१ को बराबरी खेलेको थियो ।
फ्रान्स क्वार्टरफाइनलमा साविक विजेता नेदरल्याण्ड्समाथि १–० को कठिन जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । फ्रान्सले समूह चरणका सबै खेलमा गोल खाएको थियो । यो उसका लागि सबैभन्दा चिन्ताको विषय हुनसक्छ । हुन त चिन्ता जर्मनीलाई पनि छ, किनकि टोलीकी महत्वपूर्ण खेलाडी कार्ला बुहलले कोरोना संक्रमणका कारण सेमिफाइनल खेल गुमाउने भएकी छन् ।
प्रतियोगिताको सबैभन्दा सफल तथा बलियो टोली जर्मनी र नयाँ अनुभव लिइरहेको फ्रान्सबीचको सेमिफाइनल भिडन्त रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ ।
यो खेलको विजेताले उपाधिका लागि आयोजक इंग्ल्याण्डको सामना गर्नेछ । इंग्ल्याण्ड पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै फाइनल पुगेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।