उद्योगमन्त्री बडूले जचुकालीको निरीक्षण गर्दै भने - चुरोट कारखाना सञ्चालन हुन्छ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बन्द अवस्थामा रहेको जनकपुरधामस्थित चुरोट कारखानाको निरीक्षण गरेका छन् । बुधबार जनकपुरधाम आइपुगेका मन्त्री बडूले मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवसँग जचुकालीको वर्तमान अवस्था सम्बन्धमा केहीबेर कुराकानी गरी कारखानाको भवनका साथै त्यहाँका मेसिनहरुको निरीक्षण गरेका हुन् । 

उद्योगमन्त्री बडूले देश आयातमा बढी निर्भर रहेको समयमा बन्द तथा जीर्ण अवस्थामा रहेको कलकारखानालाई पुनः संचालनमा ल्याउने तयारी स्वरुप आफूले जचुकालीको निरीक्षण गरेको प्रतिक्रिया दिए । 

राष्ट्रिय उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य अनुरुप जचुकालीलाई समेत सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । उनले भने, ‘जचुकालीका कति मेसिनहरुको उपयोग कसरी गर्न सकिन्छ, नेपाल सरकारले आफै चलाउने कि नीजि क्षेत्रसँग मिलेर चलाउने लगायतका विषयमा छलफल गरी हामी ठोस निर्णय लिनेछौँ ।’ 

जचुकालीलाई पुनः सञ्चालनमा ल्याउनका लागि प्रदेश सरकारका साथै यहाँका उद्योगी व्यवस्थाहरुसँग समेत छलफल गर्ने उनले बताए । मधेस सरकारले यहाँको जग्गा प्रशासनिक भवनका लागि प्रयोग गर्न मागेको विषयमा मन्त्री बडूले अहिले सरकारले यस विषयमा ठोस निर्णय नगरेकाले यसका विकल्पहरु खुल्ला रहेको बताए । यद्यपि प्रदेश सरकार पनि देशको जिम्मेवार निकाय रहेकाले प्रदेश सरकारको विचारलाई पनि आफूहरुले महत्वका साथ लिने उनले बताए । 

मधेस प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवासँग जनकपुर चुरोट कारखानाको प्राङ्गणलाई प्रशासनिक भवनको रुपमा प्रयोग गर्न दिन माग गरेको दुई दिन नबित्दै उद्योगमन्त्री बडूले कारखानाको निरीक्षण गरेका हुन् । 



दुईदिन अगाडी मात्रै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितको टोली काठमाडौं पुगेर प्रधानमन्त्री देउवालाई भेटी जचुकालीको प्राङ्गणमा प्रशासनिक भवनका लागि प्रयोग गर्न दिन मागसहित स्वामित्वका लागि ज्ञापनपत्रसमेत बुझाएका थिए । 



  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १४:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया