नेकपा (एमाले) का सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौतामा उल्लेखित बुँदा कार्यान्वयन गर्न लागिपरेको आरोप लगाएका छन् ।
बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेशन’को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदा नेपालका कार्यान्वयन गर्न लागेको आरोप लगाएका हुन् ।
उनले प्रधानमन्त्री सो बुँदा कार्यान्वयन गर्न लागि नपरेको भए एसपीपी कार्यान्वयन नगर्ने भनि मन्त्रीपरिषद्ले गरेको निर्णय अमेरिकालाई छिटोभन्दा छिटो पठाउन चुनौती दिए ।
उनले भने – ‘पत्र नपठाउनु यो गम्भीर आशंकाको विषय हो । चर्चा भए अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अरु कुनै नामबाट एउटा नाम आएको छ, शान्तिको लागि सहयोग । यस्तै कुनै पित्तललाई सुनको जलप लाएजस्तो कुनै जलप लगाएर केही समय अगाडी एसपीपीको सम्बन्धमा जुन दश बुँदे मस्यौदा आएको थियो त्यो मस्यौदामा उल्लेख भएका सम्पूर्ण कुराहरुलाई नेपालप्रति थोपर्न उहाँ भित्रभित्रै क्रियाशिल हुनुहुन्छ भन्ने व्यापक चर्चा छ ।’
संसदीय समितिले पटकपटक निर्देशन दिँदा पनि पत्र नपठाउनुले गम्भीर आशंका उब्जाएको उनको भनाइ छ । उनले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्न सक्रिय भएको आशंका पनि व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।