दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्ड ४१ रनले विजयी भएको छ । यो जितसँगै उसले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दक्षिण अफ्रिकाले भने सिरिजमा हारबाट सुरुवात गरेको छ ।
गएराति सम्पन्न पहिलो खेलमा इंग्ल्याण्डले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९३ रन मात्र बनाउन सक्यो । उसका लागि युवा ब्याटर ट्रिस्टन स्टब्सले आक्रामक पारी खेले पनि जित दिलाउन सकेनन् । उनले २८ बलमा २ चौका र ८ छक्कासहित ७२ रनको आक्रामक पारी खेले ।
ओपनर रिजा हेन्ड्रिक्सले ३३ बलमा ९ चौका र एक छक्कासहित ५७ रन बनाए । हेनरिक क्लासेन २० र एन्डियो फेहलकवायो २२ रनमा आउट भए । इंग्ल्याण्डका लागि रिचर्ड ग्लेसनले तीन, रिस टोप्ली, आदिल राशिदले दुई/दुई र मोइन अलीले एक विकेट लिए ।
त्यसअघि काउन्ट्री ग्राउन्ड बिस्टलमा टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३४ रन बनायो । उसका लागि जोनी बेयरिस्टोले ५३ बलमा तीन चौका र आठ छक्कासहित ९० रनको शानदार पारी खेले ।
त्यस्तै, अलराउन्डर मोइन अलीले १८ बलमा ६ छक्का र दुई चौकासहित ५२ रन जोडे । त्यस्तै, डेविड मलानले ४३, कप्तान जोस बटलरले २२ र जेसन रोयले आठ रनको योगदान दिए । दक्षिण अफ्रिका लागि लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन दिएर सर्वाधिक पाँच विकेट लिए । इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० बिहीबार राति हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।