इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका छन् । धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरूले विरोधमा प्रदर्शन गरिरहेका छन् ।
गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । प्रदर्शनका क्रममा उनीहरूले उच्च सुरक्षा क्षेत्र तोडेर संसद् भवन छिरेपछि परिस्थिति असामान्य बन्दै गएको छ ।
प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरे पनि प्रदर्शनकारी संसद् भवन प्रवेश गरेर छाडेका छन् । प्रदर्शनकारी प्रवेश गरेको समयमा संसद् भवनबाट सबै संसदहरू बाहिरीसकेका थिए ।
सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भिड भवनभित्र छिरेको बिबिसीले समाचारमा उल्लेख गरेको छ ।
इराकका प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन् । भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै समय विताउन थालेका छन् ।
नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको छ । राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनमा बहुमत पाए पनि नयाँ सरकार गठन हुन सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।