स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । केही समययता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताएका हुन् ।

वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भविष्यमा आउनसक्ने विभिन्न महामारीहरूको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामर्थ्यको विकास गर्नुपर्ने बताए ।

क्यान्सरजस्ता घातक रोगहरूको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरूले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । ‘केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैलिँदै जाने खतरा देखिएको छ । अझ यसलाई पूर्णरूपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य हामीले विकास गर्नुपर्ने खाँचो छ । साथै क्यान्सरजस्ता घातक रोगको बिरामीहरूलाई समयमै सहज उपचार गराउने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिने विश्वास लिएको छु,’ देउवाले भने । 

उनले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको पनि बताए । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उनले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत सरकार गरेको बताए । 

‘स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यक्ता हो । नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हक अन्तरगत समावेश गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । तसर्थ नेपाल सरकार सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन कटिबद्ध छ,’ प्रधानमन्त्री देउवाले भने, ‘स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्टयाएको छ । यस क्षेत्रको भौतिक संरचनाको निर्माण तथा मानवीन जनशक्तिको विकासलगायतका कार्यका लागि विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा ल्याएको छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढंगले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरेपनि त्यसको सदुपयोग गर्न नसकेको भन्दै वीर अस्पताल व्यवस्थापनको आलोचना गरे । उनले वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।  



वीर अस्पतालका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विरामीहरुको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गरे । उनले पुराना भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको समेत आवश्यक्ता रहेको बताए ।  



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १३:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया