पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुँदै

पोखरामा देशभरका ६ महानगरका मेयर भेला हुने भएका छन् । आगामी साउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ सम्मेलन हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ । 

सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए । पहिलो दिन लेकसाइडस्थित होटल बाराहीमा भेला भई सराङकोटस्थित सराङकोट माउन्टेन लजमा सहभागी पुग्नेछन् । 

जसमा संघीयता, महानगर र अबको बाटोबारे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलको मुख्य प्रस्तुति रहने बताइएको छ । यस्तै, पोखरासहित काठमाडौ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफ्ना महानगरका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीबारे सम्बोधन गर्नेछन् । 

महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौतीबारे मन्तव्य राख्नेछन् । साथै दोस्रो दिन महानगरको साझा सवालबारे संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासनबारे पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले प्रस्तुति राख्ने बताइएको छ ।

यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौतीबारे छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुने पोखरा महानगरका प्रमुख आचार्यले बताए । उनले महानगर बीचका काम र सम्भावनालाई उजागर गर्ने कुरामा पनि छलफल हुने बताए । 

मेयर आचार्यले अनुभवी मेयरले भोगेका समस्या र समाधानका उपाय र नयाँ जनप्रतिनिधिबाट आउने योजनाका बारेमा विस्तृत छलफल हुने बताए । उनले भने, ‘महानगरपालिकाहरू स्वाभाविक हिसाबले जनसंख्या पनि बढी भएको, वडाहरू पनि धेरै भएको, नेपाल सरकारको स्थानीय तहलाई सबैलाई हेर्ने एकै खालको ऐन, नियमहरू भएको अवस्थामा केही विषयहरू अन्यौलपूर्ण छन् । कतिपय संघसँग छन्, कतिपय प्रदेशसँग छन् । हामीले भोगेका समस्याहरू के हुन् ? हामीले के खालको सुझाव दिन सकिन्छ ? र हाम्रा कामलाई सहजीकरण गर्न सक्छौँ भनेर हाम्रा अनुभवहरू शेयर गर्नको लागि हो । महानगरको पूर्वाधार विकासमा के खालको विकास गर्न सक्छौँ भन्ने कुराको छलफल गर्नको लागि हो । यसलाई हरेक वर्ष गर्ने गरेर तयार गरिरहेका छौँ ।’ 



पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । गत वैशाख ३० को स्थानीय तह निर्वाचनबाट आगामी ५ वर्षका लागि देशभरका स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएका छन् ।  



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १३:४२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया