राष्ट्रियसभाबाट विभिन्न तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले विभिन्न तीनवटा विधेयक पारित गरेको छ । बैठकले शपथ सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो  । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक सभा समक्ष पेस गरेका थिए । यस्तै, आजको बैठकले राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक,२०७६ र ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाको संशोधन स्वीकारसहित पुनः सर्व सम्मतिले पारित गरेको छ । 

नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथिको उक्त प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७५ माथिको प्रस्ताव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सभासमक्ष पेस गरेका थिए ।

यस्तै, बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन र राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन पनि पेश भएको छ ।

समितिका सभापति दीलकुमारी रावल थापा (पार्वती) ले दुवै प्रतिवेदन सभा समक्ष पेस गरेका थिए । यस्तै, बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक, २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायकी परीक्षण अध्ययन प्रतिवेदन, २०७७ र सङ्क्रामक रोग ऐन २०२० को उत्तर विधायकी परीक्षण अध्ययन प्रतिवेदन, २०७८ पेस गरे । 

यस्तै, बैठकले  प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्व सम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री खाणले उक्त प्रस्ताव सभासमक्ष पेस गरेका थिए । 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १४:२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया